18.1 C
Kathmandu
Thursday, April 30, 2026
spot_img

टोखा नगरपालिकाद्वारा सार्वजनिक तथा नदी क्षेत्र अतिक्रमण हटाउन सूचना जारी

काठमाडौं l टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने नदी किनार, सार्वजनिक तथा सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

नगरपालिकाले बिहीबार जारी गरेको सूचनामा नदी करिडोर तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरू तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। सूचना अनुसार, प्रकाशित मितिबाट १५ दिनभित्र यस्ता संरचना हटाइसक्नुपर्ने उल्लेख गरिएको छ।

नगरपालिकाका अनुसार पछिल्लो समय सार्वजनिक तथा सरकारी जग्गामा अनियमित रूपमा अतिक्रमण बढ्दै गएको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यसले सहरी व्यवस्थापन, वातावरण संरक्षण तथा सार्वजनिक सम्पत्तिको सुरक्षामा चुनौती सिर्जना गरेको बताइएको छ।

तोकिएको समयावधिभित्र अतिक्रमण हटाउन अटेर गरेमा नगरपालिकाले प्रचलित कानुन अनुसार कारबाही अघि बढाउने चेतावनी दिएको छ। साथै, नगरपालिकाले आफैं संरचना हटाउने र त्यससम्बन्धी खर्च समेत सम्बन्धित व्यक्ति वा पक्षबाट असुल गरिने जनाएको छ।

नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न सबै नागरिकलाई आग्रह गर्दै यस अभियानले व्यवस्थित र सुरक्षित शहरी वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

हेडलाइन्स