काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मोटरकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति टोखा नगरपालिकाले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको छ।
टोखा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। नगरपालिकाले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने जनाएको छ।
नगरपालिकाका अनुसार उक्त सहयोग रकम जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको पारिश्रमिक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिनेछ। साथै, नगरपालिकाले नगरवासीलाई समेत विपद् प्रभावितका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आह्वान गरेको छ।
त्यस्तै, बाढीबाट प्रभावित क्षेत्रमा भएको क्षतिलाई मध्यनजर गर्दै सार्वजनिक संरचना निर्माण तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहलाई १ करोड रुपैयाँसम्म अनुदान उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
नगरपालिकाले विपद्का कारण घाइते भएकाहरूको स्वास्थ्य अवस्थाअनुसार उपचारमा विशेष प्राथमिकता दिन नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ।
यसैगरी, प्रभावित क्षेत्रका नागरिकका लागि खाद्य सामग्री, लत्ताकपडा, औषधिलगायत राहत सामग्री संकलन तथा वितरण गर्ने व्यवस्था मिलाइने भएको छ। राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई सहयोगका लागि आह्वान गर्दै सम्बन्धित वडा कार्यालयमार्फत सामग्री संकलन गरिने नगरपालिकाले जनाएको छ।
संकलित राहत सामग्री सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ढुवानी तथा वितरण गरिनेछ।
टोखा नगरपालिकाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको जनाएको छ। साथै, विपद्को कठिन परिस्थितिमा प्रभावित परिवार तथा नागरिकप्रति नगरपालिकाले ऐक्यबद्धता जनाउँदै सहयोग र पुनःस्थापनाका कार्यमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।

