21.9 C
Kathmandu
Tuesday, June 23, 2026
spot_img

टोखा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, स्वास्थ्यदेखि स्मार्ट पूर्वाधारसम्म विशेष प्राथमिकता

काठमाडौं । टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विकास, सुशासन, प्रविधि र सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले ‘समुन्नत, स्वच्छ, हरित र नागरिकमैत्री टोखा’ निर्माणलाई मुख्य लक्ष्य बनाउँदै सडक मानवमुक्त नगर, योगनगर, स्मार्ट पूर्वाधार विकास तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ।

शुक्रबार सम्पन्न १९औँ नगरसभा अधिवेशनमा नगरप्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका विकास निर्माणका कामहरूको समीक्षा गरेका थिए। उनले पूर्वाधार विस्तारदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सार्वजनिक सम्पत्ति व्यवस्थापन र डिजिटल सेवाको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताए।

नगरप्रमुख अधिकारीका अनुसार आगामी वर्ष टोखालाई अझ व्यवस्थित, स्वच्छ र वातावरणमैत्री नगरका रूपमा विकास गरिनेछ। आर्थिक विकासलाई गति दिन उद्यमशीलता प्रवर्द्धन, आयआर्जनका कार्यक्रम, लघु तथा साना उद्योगको विस्तार र सीपमूलक तालिमलाई प्राथमिकता दिइने भएको छ। विदेशबाट फर्किएका युवाको ज्ञान, सीप र अनुभवलाई स्थानीय विकाससँग जोड्ने नीति पनि अघि सारिएको छ। साथै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ।

कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउने उद्देश्यसहित कृषि यान्त्रिकीकरणलाई प्रोत्साहन गरिने, किसानहरूको सूचीकरण गरिने तथा नगदेबाली उत्पादनमा विशेष जोड दिइने भएको छ। कृषि उत्पादन वृद्धि र कृषकको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। पर्यटन प्रवर्द्धनसँगै महिला उद्यमशीलतालाई समेत प्राथमिकता दिइनेछ।

सहकारी क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउँदै प्रभावकारी नियमन गरिने प्रतिबद्धता पनि नगरपालिकाले जनाएको छ।

शिक्षा क्षेत्र सुधारका लागि शिक्षक दरबन्दी मिलान, आधुनिक र समयसापेक्ष शिक्षण प्रणाली विकास, सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई निरन्तरता तथा विद्यालयस्तरबाटै खेलकुद गतिविधि विस्तार गरिने भएको छ। निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य कार्यान्वयन गराउने नीति पनि कायम रहनेछ।

स्वास्थ्य सेवातर्फ नगरभित्रका स्वास्थ्य संस्थाले कम्तीमा १० प्रतिशत सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने भएको छ। ‘मेयर दीर्घायु कार्यक्रम’लाई निरन्तरता दिँदै महिलाको स्तन तथा पाठेघर परीक्षण, मुटु र मिर्गौला रोगीको उपचारमा विशेष प्राथमिकता दिइनेछ। गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकसम्म निःशुल्क रूपमा पुर्‍याउने लक्ष्य पनि राखिएको छ।

लागूऔषध दुव्र्यसन नियन्त्रण तथा पुनःस्थापनाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै एकल महिला, किशोर–किशोरी तथा बालबालिकाको संरक्षण र सशक्तीकरणका लागि विशेष कोष स्थापना गरिनेछ।

टोखा नगरपालिकाले आगामी वर्षभित्र सडक मानवमुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको छ। बालअधिकार संरक्षणलाई प्रभावकारी बनाउँदै बालमैत्री नगर घोषणा गर्ने योजना पनि सार्वजनिक गरिएको छ। जेष्ठ नागरिक लक्षित कार्यक्रमलाई निरन्तरता दिइनेछ।

नगरपालिकाले योग, ध्यान र प्राणायामलाई समुदायस्तरसम्म विस्तार गर्दै टोखालाई ‘योगनगर’का रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको छ। साथै नेवारी सांस्कृतिक संग्रहालय स्थापनाको सम्भाव्यता अध्ययन पनि गरिने भएको छ।

पूर्वाधार विकासतर्फ स्मार्ट सडक बत्ती विस्तार, व्यवस्थित पार्किङ निर्माण, सार्वजनिक शौचालय स्थापना, खानेपानी व्यवस्थापन, नदी–नाला सरसफाइ र प्रभावकारी फोहर व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। मुख्य सडकलाई २४सै घण्टा सञ्चालनयोग्य बनाउने, सार्वजनिक स्थानमा डस्टबिन राख्ने तथा शान्ति सुरक्षाका लागि साइरन जडान गर्ने योजना पनि समेटिएको छ।

भुमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि संघीय सरकारसँग सहकार्य गरिने नगरपालिकाले जनाएको छ। साथै निःशुल्क कानुनी सहायता उपलब्ध गराउने र बेरुजु शून्यमा झार्ने लक्ष्य राखिएको छ। कर प्रणालीलाई पुनर्संरचना गर्दै डिजिटल माध्यमबाट कर तिर्न सकिने सेवाको विस्तार गरिनेछ।

नगरप्रमुख अधिकारीले विकास आयोजनाहरू समयमै सम्पन्न गर्ने, पूँजीगत खर्च शतप्रतिशत पुर्‍याउने तथा संघ र प्रदेश सरकारसँगको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरूले सुझाव तथा धारणा राखेका थिए। कार्यक्रममा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, नगरसभा सदस्य, शाखा प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

टोखा नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले विकास, प्रविधि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासनलाई एकीकृत गर्दै ‘समुन्नत टोखा’ निर्माणको स्पष्ट कार्यदिशा प्रस्तुत गरेको छ।

प्रतिक्रिया

हेडलाइन्स