28.1 C
Kathmandu
Sunday, September 13, 2026
spot_img

बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर साइकलिङ र्‍याली हुँदै

ललितपुर, २८ भदौ । संविधान दिवसको अवसर पारेर महालक्ष्मी नगरपालिकास्थित काठमाडौं शिक्षालयले बाढीपीडित परिवारको राहत तथा सहयोगार्थ २५ किलोमिटर लामो साइकलिङ र्‍याली आयोजना गर्ने भएको छ।

महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा असोज ३ गते शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म हुने र्‍यालीमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सर्वसाधारणसहित करिब २०० जनाको सहभागिता रहने आयोजकले जनाएको छ।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाश राज पाण्डेका अनुसार संविधान दिवसलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्दै बाढीपीडितका लागि राहत जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

र्‍यालीमा उमेर तथा क्षमता अनुसार १० वर्षमुनिका बालबालिकाका लागि १० किलोमिटर, १५ वर्षसम्मका लागि १५ किलोमिटर र अनुभवी साइकलचालकका लागि २५ किलोमिटर दूरी निर्धारण गरिएको छ।

२५ किलोमिटरको रुटले महालक्ष्मी नगरपालिकाका वडा नम्बर १ देखि १० सम्मका विभिन्न क्षेत्र समेट्नेछ। इमाडोलस्थित काठमाडौं शिक्षालयबाट सुरु हुने र्‍याली कृष्ण मन्दिर, ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार हुँदै शंखदेवी मन्दिर, बिसन्डोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका कार्यालय परिक्रमा गरी पुनः शिक्षालय परिसरमा पुगेर समापन हुनेछ।

र्‍यालीबाट संकलित राहत रकम तथा सामग्री बाढीपीडित परिवारलाई उपलब्ध गराइने आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय सरकार, सामाजिक संघसंस्था, विद्यालय, अभिभावक तथा नगरवासीलाई सक्रिय सहभागिताका लागि अपिल गरिएको छ।

“साइकल चलाऔँ, सहयोग जुटाऔँ, बाढीपीडित परिवारलाई साथ दिऔँ” भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक तयारी भइरहेको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स