10.1 C
Kathmandu
Friday, January 16, 2026
spot_img

काठमाडौँ महानगरले स्थानीय भाषा पाठ्यक्रम परिमार्जन प्रक्रियामा तीव्रता ल्यायो

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाका पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ। महानगर शिक्षा विभागले विज्ञ समूह गठन गर्दै नेपाल भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक पुनर्लेखनका लागि छलफल र अध्ययन कार्य सुरु गरेको हो।

नेपाल भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक संशोधन समितिसँगको भेटमा उपप्रमुख सुनिता डंगोलले बालमैत्री सिकाइका लागि पाठ्यपुस्तकको प्रभावकारिता अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरिन्। उनका अनुसार स्थानीय भाषाको पढाइ केवल अतिरिक्त पुस्तक वा परीक्षा केन्द्रित गतिविधि मात्र नभई समुदायको पहिचान, मौलिकता र सांस्कृतिक निरन्तरतासँग जोडिएको विषय हो।

उनले नेपाल भाषा अध्यापनका लागि संस्थागत विद्यालयका शिक्षक–शिक्षिकालाई प्राथमिकता दिएर क्षमता विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन्। सामुदायिक विद्यालयका सहायक प्रशिक्षकलाई विगतमा तालिम दिइसकिएकाले अब संस्थागत विद्यालयतर्फ ध्यान दिनुपर्ने उनको धारणा छ।

महानगरले कक्षा १ देखि ८ सम्म ‘येँ देय् म्हसिके’ अर्थात् ‘काठमाडौँलाई चिनौँ’ नामक नेपाल भाषा पाठ्यपुस्तक र तामाङ भाषा पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएको छ। यस्तै, कक्षा ४ र ५ मा ७५ अङ्क अभ्यास र २५ अङ्क सैद्धान्तिक मूल्यांकन, तथा कक्षा ६ देखि ८ मा ५०–५० अङ्कको मूल्यांकन प्रणाली लागू छ।

स्थानीय पाठ्यपुस्तकमा काठमाडौँका प्रमुख जाति नेवारको इतिहास, संस्कृति, कला, सीप, जीवनशैली, जात्रा, चाडपर्व तथा परम्परागत खेलजस्ता विषयवस्तु समेटिएका छन्। चित्र, संकेत र मौलिक नामसहितका यस्ता पाठहरूले विद्यार्थीलाई भाषा मात्र होइन, स्थानीय पहिचान र संस्कृतिको नजिक पुर्‍याउने महानगरको विश्वास छ।

प्रतिक्रिया

हेडलाइन्स