9.1 C
Kathmandu
Friday, January 16, 2026
spot_img

टोखा नगर स्थापना दिवसका अवसरमा आयोजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा फ्लोरोसेन्टकी अनुश्री मिश्र प्रथम

काठमाडौँ । टोखा नगरपालिका–१२ औं नगर स्थापना दिवसको अवसरमा आयोजना गरिएको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा फ्लोरोसेन्ट माध्यमिक विद्यालयकी कक्षा ८ की छात्रा अनुश्री मिश्रले प्रथम स्थान हासिल गरेकी छिन् ।

टोखा नगरपालिका भित्र रहेका ३२ वटा विद्यालय सहभागी भएको सो प्रतियोगितामा बेबील्याण्ड इङ्लिस सेकेन्डरी स्कुल की आरुसा बुढाथोकीले दोस्रो स्थान प्राप्त गरिन् भने धापासी माध्यमिक विद्यालयका धिरेन्द्र बुढाले तेस्रो स्थान हात पारे । त्यस्तै, चौथो स्थानमा मिल्सबेरी स्कूलकी विद्यार्थी समृद्धि श्रेष्ठ चयन भएकी थिइन् ।

विजयी विद्यार्थीहरूलाई आगामी मंसिर १६ गते नगर स्थापना दिवसको अवसरमा सम्मान सहित नगद पुरस्कार वितरण गरिने भएको छ । पुरस्कारअन्तर्गत प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलाई रु ११ हजार, तेस्रोलाई रु ८ हजार र सान्त्वना पुरस्कार रु ५ हजार प्रदान गरिने शिक्षा शाखाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारी र विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख सिताराम कोइराला, विभिन्न विद्यालयका प्र.अ, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगिताको सञ्चालन शिक्षा शाखाका अधिकृत खगेन्द्र धामीले गरेका थिए । सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, अभिव्यक्ति क्षमता र नेतृत्व कौशललाई मजबुत बनाउने भएकाले निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताएका छन्।

प्रतिक्रिया

हेडलाइन्स