13.1 C
Kathmandu
Monday, February 9, 2026
spot_img

आगामी तीन दिन तराईमा हुस्सु–कुहिरो यथावत्, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशको मौसममा उल्लेख्य सुधार नदेखिने जनाएको छ। विशेषगरी तराईका धेरै स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको र आगामी तीन दिनसम्म पनि त्यसमा खासै सुधार नहुने सम्भावना रहेको विभागको भनाइ छ।

मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। हुस्सु–कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने देखिएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, “देशको तराईका धेरै ठाउँहरूमा हुस्सु/कुहिरो लागेको छ। साथै, आगामी तीन दिनमा समेत उल्लेख्य सुधार हुने सम्भावना नरहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।”

तीन दिनको मौसम पूर्वानुमान

विभागका अनुसार मंगलबार राति तराई भू–भागमा हुस्सु तथा कुहिरो रहनेछ भने पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

बुधबार (पुस ९) दिउँसो कोसी प्रदेशका तराई भू–भागमा मध्याह्नसम्म र बाँकी तराई भू–भागमा दिनभर हुस्सु–कुहिरो रहने अनुमान छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम प्रायः सफा रहनेछ। राति पनि तराईमा हुस्सु–कुहिरो यथावत् रहने विभागले जनाएको छ।

बिहीबार (पुस १०) दिउँसो देशका अधिकांश तराई भू–भागमा हुस्सु–कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।

विभागले विशेषगरी बिहान र बेलुकीको समयमा सवारी साधन चलाउँदा सावधानी अपनाउन, स्वास्थ्यप्रति सजग रहन तथा हवाई यात्रामा सम्भावित ढिलाइलाई ध्यानमा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

हेडलाइन्स