26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

कफी खेतीबाटै वार्षिक १३ लाख आम्दानी गर्दै माङसेबुङका किसान

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छ्न्। उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन्। उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन्। विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका हुन्। व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गरेका छन्। उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा रु १३ लाखसम्म आम्दानी गर्दै आएका छन्। कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उनको अनुभव छ।

विसं २०७४ देखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उनले व्यावसायिक कफीखेती गर्दै आएका छन्। ‘विगत छ वर्षदेखि मैले आफ्नै निजी जग्गामा व्यावसायिक कफीखेती गर्दै आएको छु, अहिले अधिकांश बोटले आम्दानीसमेत दिन थालिसकेको छ,’ उनले भने, ‘फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँच सम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ।’

‘अरविका’ नामक कफीखेती विस्तार गरेका व्यवसायी कार्कीले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन्। उनले याममा बिरुवा बिक्रीबाट छ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए। मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ,’ उनले भने, ‘बिरूवाबाट मात्र करिब छ लाख हात पार्ने गरेको छु।’ बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उनले बताए।

कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उनले भने। ‘वनजङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हरभरा देखिन थालेका छन्,’ उनले भने, ‘यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न सङ्घसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ।’

कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफीखेतीतर्फ लागेको उनले बताए। उनले कफीसँगै व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका छन्। कफीखेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफीखेती विस्तार गरेको छ। उनले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी लगाएका छन्। लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेको उनले बताए।

‘चार वर्षदेखि कफीखेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्याउने लक्ष्य छ,’ उनले भने, ‘पहिलो लटको बिरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ।’ केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफीखेती गर्न सहज हुने उनको अनुभव छ ।

माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आएका छन्। व्यावसायिकरूपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका बिरुवा लगाउनुभएका उहाँले राम्रो आम्दानी गरेको बताए।

‘मलजल र स्याहारसुसार पुग्यो भने रोपेको दुई वर्षदेखि नै आम्दानी दिन थाल्दोरहेछ, यो वर्ष ७० हजार रुपैयाँजति आम्दनी भयो,’ उनले भने, ‘यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु।’ पहाडी क्षेत्रमा विगतमा भन्दा यो वर्ष कफीखेती राम्रो रहेको र किसान यस खेतीबाट सन्तुष्ट भएको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि पाँच सय कफीका बिरुवा रोपेर व्यावसायिक कफीखेती सुरु गरेका छन्। पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट किसानले मनग्य आम्दानी लिन सफल भएपछि आगामी वर्ष आफूले कफीखेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्। पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन्।उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्। सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक कफीखेती सुरु गर्न थालेका छन्। उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन्। माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको बिरूवा रोपिएको गाउँपालिकाको तथ्याङ्क छ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा आकर्षित भएका हुन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफीखेती सुरु गरेका छन्। बाँझो पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक कफीखेती सुरु गरेका हुन्। उनीहरूले व्यावसायिक कफीखेती गरी लाखौँ आम्दानी लिइरहेका छन्। उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक कफीखेती गर्दै आएका हुन्। यहाँका किसानले ‘अरविका’ जातका कफीखेती गर्दै आएका छन्।

किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन। घरैबाट सहजैरूपमा बिक्री गर्न पाउँछन्। घरघरमा गएर व्यापारीले कफी किन्ने गरेका छन्। बगानमै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्याउने झन्झट छैन। स्थानीयस्तरमा नै कफी प्रशोधन उद्योग स्थापना भएपछि किसानले कफीको मूल्य राम्रै पाएका छन्। त्यस क्षेत्रका किसानले उत्पादन गरेको कफी व्यापारीमार्फत काठमाडौँमा जाने गरेको छ।

कफी प्रशोधन उद्योगले बजारीकरणमा सहज
गाउँमा व्यावसायिक कफीखेती विस्तार भएसँगै माङसेबुङ गाउँपालिका–१ का किसान याम कार्कीले गाउँमै कफी प्रशोधन उद्योग स्थापना गरेका छन्। उनले ‘इलाम एग्रो फार्म’मार्फत उद्योग स्थापना गरेपछि किसानलाई सहज भएको छ। उत्पादित कफीको बजारीकरण उद्योगले नै गर्ने भएपछि किसानले बजारीकरणको समस्या भोग्नुपरेको छैन। स्थानीयस्तरमै प्रशोधन भएर बजारीकरण हुने भएकाले किसानले कफीको मूल्यसमेत राम्रो पाएका छन्।

किसानले जति धेरै उत्पादन गर्छ, त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था गरिएको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए। माङसेबुङ गाउँपालिकाले गत वर्ष कफीमा ३४ जना किसानले एक लाख १६ हजार आठ सय ९० प्रोत्साहनबापत अनुदान पाएको गाउँपालिकाले जनाएको छ।

 

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स