29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गाउँमै गएर योजना सम्झौता गर्दै थलारा गाउँपालिका

बझाङ । शनिबार दिउँसो जिल्लाको थलारा गाउँपालिका–९ मालुमेलास्थित वडा कार्यालयमा भिडभाड थियो । कोही स्थानीय बजारमा फोटोकपी गर्न, फाइल किन्न स्टेसनरी पसलमा लाइनमा थिए भने कोही काखीमा फाइल च्याप्दै वडा कार्यालयमा जाँदै थिए ।

थलारा गाउँपालिका–९ चित्रु गाउँका दीपेन्द्र भण्डारी पनि त्यही हुलमा फाइल समातेर हतार हतारमा वडा कार्यालय छिर्दै थिए । गाउँपालिकाका केन्द्रबाट चार घण्टाको पैदल दूरिमा रहेको चित्रु गाउँमा चित्रु गोरेटो बाटो निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गर्न आएका भण्डारीले भन्नुभयो, “गाउँपालिकाले यो वर्ष यसरी गाउँमा आएर योजना सम्झौता गर्न आएपछि स्थानीय उपभोक्तालाई निकै सहज भयो ।

गारेटो बाटो निर्माणका लागि एक लाख रुपियाँ विनियोजन गरेको थियो । गाउँपालिका आउन, जान खर्च पनि बढी हुने, समयको पनि बर्वाद हुने र योजनाका बारेमा प्राविधिक जानकारी पनि नहुने समस्या हुन्थ्यो तर हाकिम सापको टोली यसरी यहाँ आएर सम्झौता गरेपछि योजना सम्पन्न गर्दाको विधि प्रक्रियाका बारेमा समेत जानकारी भयो ।”

जिल्लाको थलारा गाउँपालिकाले प्रत्येक वडा वडामा योजना सम्झौता गरिरहेको छ । प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितको नेतृत्वको टोलीले पालिकाका दुर्गम गाउँ तथा वडा स्तरमा पुगेर पालिकाले आर्थिक वर्ष २०८०र ०८१ मा विनियोजन गरेका योजनाहरुको सम्झौता गरिरहेको छ ।

गाउँपालिकाबाट बिनयोजन गरेका कार्यक्रम तथा योजनाको काम छिटो छरितो, भरपर्दो तथा गुणस्तरिय बनाउनका लागि थलारा गाउँपालिकाले गाउँमा पुगेर योजना सम्झौता , व्यापारिक फर्म दर्ता नवीकरण लगायत गाउँपालिकाबाट हुने सेवा प्रवाहका बारेमा नागरिकहरुलाई जानकारी दिने कार्य गरिरहेको छ । पालिकाले एक टोली बनाएर गाउँमा पुगेर सेवा प्रवाह गरेपछि स्थानीय उपभोक्ताहरुको समयको बचत, खर्चको बचत, काम गर्न सहज हुनुका साथै योजनामा हुने आर्थिक अनियमिततामा समेत कमी आउने भएको छ ।

थलारा गाउँपालिका–९ फकालीका प्रेमबहादुर बिष्टले भन्नुभयो, “हाम्रो गाउँबाट गाउँपालिकाको केन्द्र रहेको खोली बजार पैदल जान चार घण्टा लाग्ने गर्छ । योजना सम्झौता, बैंकमा खाता खोल्न वा भुक्तानी लिन जाँदा समेत सानो योजनामा धेरै खर्च लाग्ने गर्दथ्यो । त्यसैमा केही कागज पत्र पुगेन भने फेरि गाउँमा आउन समेत झन्झट र हैरानी हुन्थ्यो । यो वर्ष भने वडामा आएर गाउँपालिकाले यस्तो सुविधा दिएपछि सबै उपभोक्तालाई सजिलो भयो ।”

उहाँले योजना निर्माण गर्दा प्राविधिक सरसल्लाह, योजना फर्स्योट गर्दा के के कागज तथा बिल भरपाई चाहिने हुन् भनेर पनि अनभिज्ञता हुनाले समयमा जानकारी पाएको अनुभव सुनाउनुभयो ।

थलारा गाउँपालिकामा झण्डै तीन सयभन्दा बढी योजना तथा कार्यक्रमहरु छन् । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितले भन्नुभयो, “हरेक वर्ष पालिकाबाट विनियोजन भएका योजनाहरु सम्झौताका लागि बारम्बार सूचना दिए पनि समयमा सम्झौता नहुने, आर्थिक वर्षको अन्त्यमा आएर योजना सम्झौता गर्न आउने भएका कारणले योजनाको अनुगमन, प्राविधिक सरसल्लाह र योजनामा समेत गुणस्तर कायम गर्न समेत समस्या हुँदै आएको थियो । यसले टाढाका उपभोक्तालाई केही काजगपत्र कम भयो भने फेरि गाउँ पठाउनुपर्ने अवस्था आएकाले गाउँमै आएर योजना सम्झौता गरेका हौं ।” उहाँले समयमा योजनामा सम्झौता भयो भने कामको गुणस्तर कायम हुने, उपभोक्ताहरुको समयको बचत हुने, कम खर्च हुने र समयमै प्राविधिक सर सल्लाह दिन सकिने र अनुगमन गर्न सहज हुने बताउनुभयो ।

वडा अध्यक्षसँग समन्वय गरेर अहिले थलारा गाउँपालिकाको ६ वटा वडामा योजनाहरुको सम्झौता भइसकेको छ भने बाँकी ३ वटा वडामा योजना सम्झौताको चरणमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स