20.1 C
Kathmandu
Sunday, April 26, 2026
spot_img

ठेकेदारको लापरबाहीले भक्तपुर–नगरकोट सडक आसपासका स्थानियलाई सधैँको सास्ती

काठमाडौँ। भक्तपुरस्थित भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माणको जिम्मा पाएका कम्पनीको चरम लापरबाहीले छ करोड रुपियाँभन्दा बढी लागत बढेको छ । त्यति मात्र होइन नगरकोटबाट घुम्न जाने पर्यटकले उबडखाबड र खाल्डाखुल्डीमा यात्रा गर्दा सास्ती भोग्नु परिरहेको छ । भक्तपुर–नगरकोट– सिपाघाट–बल्खु– दक्षिणकाली सडक योजनाका प्रमुख गौतम श्रेष्ठले निर्माण कम्पनीको चरम लापरबाहीका कारण पटक पटक म्याद थपिँदा पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको बताउनुभयो ।

बीचबीचमा काम गर्दै र छोडिँदै गरिएको हुनाले हरेक वर्ष निर्माण गरिएका संरचनासमेत भत्किने गरेको बताउँदै उहाँले काम समयमा सम्पन्न नहुँदा हरेक वर्ष लागतसमेत बढ्दै गएको बताउनुभयो । काम ढिला गरिँदा लागत झन्डै छ करोड रुपियाँ बढेको भनाइ उहाँको छ । सुरुको सम्झौतामा २७ करोड ९० लाख रुपियाँमा काम सक्ने भनिए पनि अहिले अनुमानित लागत बढाएर ३५ करोड ८७ लाख रुपियाँ कायम गरिएको छ । जसमध्ये अहिलेसम्म निर्माण कम्पनीलाई १७ करोड ३१ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।

यो सडक निर्माण कार्यको जिम्मा पाएका नेपाली निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र भारतीय निर्माण कम्पनी आरावली इन्फ्रा पावर लिमिटेड एआईपीएल जेभी हुन् । सो सडक निर्माणका लागि २०७३ कात्तिक ४ गते काम सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते सम्झौता भएको थियो तर पटक पटक गरी सात पटक म्याद थप्दा पनि सडकले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । पछिल्लो पटक यसै वर्षको चैत मसान्तसम्मका लागि म्याद थप गरिएको हो ।

यो सडक निर्माणका जिम्मा दुईवटा कम्पनीले पाए पनि अहिलेसम्म नेपाली कम्पनीले मात्र काम गरेकाले निर्माण कार्य पूरा हुन ढिलाइ भएको हो । निर्माणका लागि सम्झौता भएयता अहिलेसम्म फिल्डमा भारतीय कम्पनी आरावली इन्फ्रा पावर लिमिटेड (एआईपीएल)को उपस्थिति छैन । निर्माण कार्य सम्पन्न गर्नका लागि योजनाले एआईपीएललाई पत्र पठाएपछि अहिले सो कम्पनी सम्पर्कमा आएको र काममा सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स