25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

सुदूरपश्चिमेलीहरुको महान पर्व ‘गौरा’ आजबाट सुरु

बैतडी । सुदूरपश्चिमेलीहरुको महान पर्व ‘गौरा’ आजबाट बिधिबत् रुपमा सुरु भएको छ। आज भाद्र कृष्ण पञ्चमीको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। बिरुडा पञ्चमीका दिन आज पाँच प्रकारका अन्न भिजाएर विधिबत् रुपमा गौरा सुरु हुन्छ ।

नेपालको सुदूरपश्चिम तथा भारतको उत्तराखण्डमा गौरालाई विषेश पर्वका रुपमा मनाउदै आएका पाइन्छ । भगवान् शिवकी धर्मपत्नी पार्वतीको स्वरुप गौरालाई पुज्ने चलन छ । विवाहित महिलाले आज पञ्चमीका दिन व्रत बसी गौरापर्वको दिन धुबीधागो लाउने गर्दछन् । व्रतबाट सुस्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ।तामा(पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’का रुपमा लिईन्छ। पूजाआजाका क्रममा बिरुडालाई प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ। विरुडा पञ्चमीमा भिजाएर गौराको बिधिबत् शुरुवात गरिन्छ। यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको पाइन्छ।

सप्तमी र अष्टमीका दुई दिन गौराका बिशेष दिनहरु हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसंगै उम्रीएको साउँ (धानजस्तै देखिने घाँस) बाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भित्र्याइन्छ।

पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनि बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षम्म गरेको कष्टसाध्य तपस्यापश्चात् वरदान पाइ महादेव अर्थात् शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यताअनुसार गौरापर्व मनाइदै आएको पाइन्छ । सुदूरपश्चिमेलीहरुको महान चाँडका रुपमा रहेको गौरा पछिल्लो समय देशका विभिन्न ठाउँ तथा विदेशमा पनि भव्यताका साथ मनाउन थालिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स