19.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

प्रचारप्रसारअघि दल र उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ।

आचारसंहिताको दफा ३७ अनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सोही घोषणापत्रका आधारमा मात्र प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार फागुन ४ गतेदेखि औपचारिक निर्वाचन प्रचारप्रसार सुरु हुँदैछ।

तर, हालसम्म कुनै पनि राजनीतिक दलले निर्वाचन घोषणापत्र आयोगमा पेस नगरेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। उनका अनुसार आचारसंहितामा राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा आफ्नो घोषणापत्र पेस गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ।

त्यसैगरी, राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसारको कार्यप्रगति विवरण प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको सहायक प्रवक्ता जिसीले बताए।

निर्वाचन आयोगले आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक आग्रह गर्दै आएको छ।

प्रतिक्रिया

हेडलाइन्स