काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ अन्तर्गत हाडीगाउँमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको गहना पोखरीको पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। काठमाडौँ उपत्यकाका पुराना बस्तीमध्ये एक हाडीगाउँको पहिचानसँग जोडिएको यस पोखरीलाई पुरानै स्वरूप र शैलीमा पुनर्निर्माण गर्न थालिएको हो।
सम्पदा क्षेत्र संरक्षण तथा सहरी विकास कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको पहलमा गहना पोखरी र यसको आसपासको क्षेत्रलाई व्यवस्थित तथा आकर्षक बनाउने उद्देश्यसहित पुनर्निर्माणको काम सुरु गरिएको हो। धार्मिक विधिअनुसार क्षमा पूजा गरी औपचारिक रूपमा काम थालिएको पोखरी पुनर्निर्माणमा करिब ५२ देखि ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
स्थानीय इतिहास र सांस्कृतिक महत्व बोकेको गहना पोखरीलाई आधुनिक संरचना होइन, पुरानै शैली र परम्परागत ढाँचामा निर्माण गर्न विशेष ध्यान दिइएको महानगरपालिकाले जनाएको छ। पुनर्निर्माणपछि पोखरीले हाडीगाउँ क्षेत्रको मौलिकता झल्काउने र धार्मिक, सांस्कृतिक गतिविधिका लागि अझ उपयोगी हुने अपेक्षा गरिएको छ।
पोखरी पुनर्निर्माणसँगै वरपरको क्षेत्रलाई पनि व्यवस्थित बनाउने काम भइरहेको छ। यस क्रममा पैदलयात्रीका लागि फुटपाथलाई पहिलेभन्दा फराकिलो बनाइँदैछ भने विश्रामका लागि फाल्चा निर्माण, बालमैत्री क्षेत्रको विकास तथा हरियाली क्षेत्र विस्तारका काम पनि अघि बढाइएको छ। साथै, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै पर्यटक सहायता केन्द्र स्थापना गर्ने योजना समेत रहेको जनाइएको छ।
स्थानीयवासीका अनुसार लामो समयदेखि जीर्ण अवस्थामा पुगेको गहना पोखरीको पुनर्निर्माणले हाडीगाउँको पहिचान जोगिनुका साथै समुदायमा सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ। धार्मिक तथा सांस्कृतिक पर्वका बेला प्रयोग हुँदै आएको पोखरी व्यवस्थित भएपछि सांस्कृतिक गतिविधि अझै सक्रिय हुने उनीहरूको अपेक्षा छ।
काठमाडौँ महानगरपालिकाले उपत्यकाभित्र रहेका ऐतिहासिक पोखरी, पाटी–पौवा र सम्पदाहरूको संरक्षण तथा पुनर्जीवनलाई प्राथमिकतामा राख्दै आएको छ। गहना पोखरीको पुनर्निर्माण पनि यही अभियानको एक हिस्सा भएको महानगरको भनाइ छ।
पुनर्निर्माण कार्य समयमै सम्पन्न भई गहना पोखरी पुरानै सौन्दर्यसहित पुनः जीवित हुने अपेक्षा गरिएको छ।

