काठमाडौँ । गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले परिवर्तनका लागि आफ्नो ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ।
विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्मानस्वरूप उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको जनाएको छ।
विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार यो पहल विद्यालयको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको हो।
उनले भने, “शिक्षा नै सशक्तिकरणको माध्यम हो। लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो।”
विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू, जस्तै बालबालिकाको शैक्षिक सहयोग, विपद् प्रभावित परिवारलाई राहत, र सामुदायिक विकासमा सहभागिता जनाउँदै आएको जनाएको छ।
विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाहरूका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ।

