24.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

आज पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती, पूर्वराजा ज्ञानेन्द्रले शालिकमा माल्यार्पण गर्ने

काठमाडौं । आज विविध कार्यक्रम आयोजना गरी देशभर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदैछ। प्रत्येक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइने गरिन्छ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए। काठमाडौं उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा सिंहदबारस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुने कार्यक्रम रहेको छ ।नारायणहिटी दरबार छाडेको १५ वर्षपछि पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको अवसर पारेर पहिलोपटक पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न लाग्नुभएको हो ।

पूर्व राजाका संवाद सचिव डा। फणिराज पाठकले उहाँले दिउँसो साढे १२ बजे सिंहदरबारको मूल गेटमा रहेको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । राप्रपा, विवेकशील साझा पार्टीलगायत राष्ट्रवादी र राजावादीका संघ संगठनले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई राष्ट्रिय पर्व घोषणा गर्न माग गरेको अवस्थामा एकताको सन्देश दिन पूर्वराजा ज्ञानेन्द्र पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न जान लाग्नुभएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स