काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधवार बिहान सम्पन्न निर्वाचनमा ६४ मत ल्याएर देउवा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे ।
निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।
गगनले अपेक्षा गरिए जति मत पनि ल्याउन सकेनन् । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिएकांग्रेस संसदीय दलको नेता चुनिएपछि अब भावी सरकार गठनका लागि बाटो खुलेको छ ।
देउवाले गठबन्धन सहयात्री दलका नेताहरूलाई कांग्रेस संसदीय दलको नेता नचुनिँदासम्म पर्खिन आग्रह गरेका थिए । अब दलहरूबीच शक्ति बाँडफाँटका लागि औपचारिक भागबण्डा शुरू हुनेछ ।

