19.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

पोखरामा नवौं राष्ट्रिय खेलकुदको शुरुवात आजबाट

कास्की । पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पुरा भएको छ । माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ । नवौँ राष्ट्रिय खेलकुदकै सन्दर्भमा तयारीका लागि यत्रतत्र छरिएर खेल्दै गरेका खेलाडीले गतिविधिले यहाँको रौनक बढाएको छ । दसैँ र आसपासमा केही दिनको लगातारको झरीपछि पोखराको मौसम पनि खुल्दै गएको छ ।

कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ मा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको ‘काउण्टडाउन’ आज सकिँदैछ । नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण खेलको मिति पुनःसरेको थियो । अब भने नवौँ राष्ट्रिय खेलकुदको प्रतिक्षाको घडी सकिएको छ ।

नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले आज दिउँसो ३स्३० बजे भव्य समारोहकाबीच गर्नुहुने भएको नवौँ राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो । उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनका लागि सबै किसिमको तयारी भएको उहाँले जानकारी दिनुभयो ।

विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई चार दशकपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका जुरेको हो । कूल ३६ वटा खेल खेलाइने नवौँ राष्ट्रिय खेलकुदमा आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा एकसाथ जुट्दैछन् ।

यसअघि १३औँ दक्षिण एशियाली खेलकुद ९साग०का आठवटा खेल सम्पन्न गरेको पोखराको घरेलु मैदानमा नै यसपटक २६ वटा खेल हुने खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिनुभयो । ३६ खेलमध्येका अन्य खेल गण्डकीका विभिन्न जिल्लामा हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म चल्नेछ । पोखरासहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ ।

गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल नहुने गुरुङले जानकारी दिनुभयो ।

सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैरआवासीय नेपाली सङ्घ (एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुनेछ । खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइनेछ ।

पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ । पुरुष बास्केटबल पोखरामा र महिला बास्केटबल तनहुँमा हुने भएको छ । आर्चरी, फेन्सिङ पोखरा रङ्गशालामा हुनेछ ।

यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।

रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ । यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ ।

नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौँमा खेलाइनेछ । राष्ट्रिय प्रतियोगितामा कूल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य ६०० रहेको परिषद्ले जनाएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स