22.8 C
Kathmandu
Wednesday, June 17, 2026
spot_img

दंगीशरण गाउँपालिकामा राष्ट्रगान गाएर मात्रै सुरु हुने सेवा प्रवाह

काठमाडौँ । दंगीशरण गाउँपालिकाले आगामी साउन १ गतेदेखि दैनिक कार्यालय सेवा सुरु गर्नु अघि राष्ट्रगान अनिवार्य रूपमा गाउने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। गाउँपालिकाले असार ३० गते उक्त निर्णय लिएको जानकारी दिएको छ।

निर्णय अनुसार अबदेखि कार्यालयका सम्पूर्ण कर्मचारीले बिहान १० बजे तोकिएको पोशाक र परिचयपत्रसहित राष्ट्रगानमा सहभागी हुनुपर्नेछ। राष्ट्रगान सकेपछि मात्र नियमित सेवा प्रवाह सुरु हुनेछ। गाउँपालिकाका ३५ जना कर्मचारी सहभागी उक्त बैठकमा यसबारे सहमति जुटेको हो।

गाउँपालिकाले कार्यालय सञ्चालन र प्रशासनिक कार्यसम्पादनलाई थप नियमित र प्रभावकारी बनाउन अन्य निर्णयहरू पनि गरेको छ। प्रत्येक महिनाको १५ र ३० गते नियमित कर्मचारी बैठक बस्नेछ भने वडासचिवहरुसँगको समिक्षा बैठक महिनाको पहिलो शुक्रबार आयोजना गरिनेछ।

त्यस्तै, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूको बैठक महिनाको ३ गते गरिने निर्णय समेत गरिएको छ। बैठकले विद्युतीय हाजिरी प्रणालीलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने निर्णय पनि गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार राष्ट्रगानबाट कार्यदिवसको सुरुवात गर्दा कर्मचारीमा राष्ट्रिय भावना र समयपालनको संस्कार बलियो हुने अपेक्षा गरिएको छ। गाउँपालिकाले यस अभ्यासलाई संस्थागत गर्दै अनुशासित प्रशासन निर्माणतर्फको कदमको रूपमा अघि सारेको छ।

प्रतिक्रिया

हेडलाइन्स