9.1 C
Kathmandu
Friday, January 16, 2026
spot_img

मालिका गाउँपालिकाको दुनाम गाउँ पहिरोको जोखिममा, स्थानान्तरणका लागि कसैको ध्यान गएन

गुल्मी । गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने दुनाम गाउँ हरेक दृष्टिले पिछडिएको छ । यातायात लगायत अन्य भौतिक पूर्वाधारका हिसाबले निकै पिछडिएको यो बस्ती बसोबासका लागिसमेत जोखिमपूर्ण बनेको छ ।

मालिका गाउँपालिकामा रहेको बस्ती हाल पहिरोको जोखिममा परेको छ । यद्यपि यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्नेतर्फ तीनै तहको सरकारको ध्यान जान सकेको छैन । गुल्मी जिल्लामा रहेर पनि यो बस्तीका बासिन्दाको सम्बन्ध बागलुङ जिल्लासँग बढी हुने गर्दछ । बजार तथा बाटोघाटो लगायतका सुविधाका लागि यहाँका बासिन्दा बागलुङतर्फ नै झुकाव राख्छन् ।

मोटरबाटोको सुविधा नहुँदा त्यस भेगका जनतालाई संघीय संरचनाले पनि प्रशासनिक सुविधा सहज तुल्याउन सकेको देखिँदैन । अहिले पनि त्यहाँका बासिन्दा तीनचार घण्टाको उकालो ओरोलो गर्दै वडा कार्यालयमा धाउँछन् । मालिका गाउँपालिकाको केन्द्रमा पुग्न ६ घण्टाभन्दा बढी समय लाग्छ ।

दुनाम गाउँका रविन्द्र विक भन्नुहुन्छ, ‘हाम्रा लागि त जुन व्यवस्था, जुन सरकार र जुन नेता आए पनि उस्तै भएको छ ।’ उहाँले केहीदिन अघिको अविरल वर्षासँगै आएको पहिरोले गाउँका ३६ घरधुरी दलित बस्ती उच्च जोखिमा रहेको बताउनुभयो । पहिरोले तीन घर विस्थापित भएका छन् । जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने पहलसमेत नभएको उहाँको गुनासो छ ।

पाटखर्कस्थित नेपाली काँग्रेसका वडा कार्य समिति सदस्य भरत केसीका अनुसार दुनामवासीलाई चुनावका समयमा मात्र राजनीतिक दल र तिनका प्रतिनिधिले सम्झने गरेका छन् । उहाँले दुनामका बासिन्दालाई सुरक्षित स्थानमा सार्नेबारे धेरै पटक गाउँपालिकामा नामसहित विवरण पठाइए पनि कार्यान्यवन हुन नसकेको गुनासो गर्नुभयो । मालिका–२ का वडाध्यक्ष युद्धवीर घर्तीले पनि दुनामवासीको अवस्था दयनीय हुँदा पनि माथिल्लो तहबाट समस्या सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो ।

यस सम्बन्धमा मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापाले जोखिममा रहेको सो बस्ती स्थानान्तरणका लागि आफुहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस गरे पनि प्राधिकरणको विशेषज्ञ टोलीले जोखिमयुक्त स्थान नरहेको भनेका कारण स्थानान्तरणको प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो ।

‘हामीले दुनाम गाउँ, साविक घमिर गाविसको टुनिखोलाको दलित बस्ती र भरभुङ्गको सिलिङ्गकोटको बस्ती जोखिमपूर्ण भनि प्राधिकरणमा सिफारिस गरेका हौं । म आफै प्राधिकरणको टोली लिएर आएको पनि हुँ तर टोलीले बस्ती सार्न आवश्यक नरहेको भनेपछि त्यतिकै रहन पुगेको हो,’ अध्यक्ष थापाले भन्नुभयो।

सो क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकर्णराज बिष्टले दुनाम गाउँमा पहिरोले क्षति पुर्याएकोबारे आफूलाई कसैले जानकारी नदिएको बताउनुभयो । बिष्टले त्यस गाउँका बासिन्दालाई आय आर्जनमुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा आफूले जोड दिँदै आए पनि स्थानीय सरकारले खासै चासो नदेखाएको गुनासो गर्नुभयो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स