9.1 C
Kathmandu
Friday, January 16, 2026
spot_img

किसानलाई फूल खेतीतर्फ आकर्षित बनाउन गाउँपालिकाद्वारा फूल खेती

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले झण्डै २० रोपनी जमिनमा व्यावसायिक फूल खेती सुरुआत गरेको छ । गाउँपालिकाले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी यहाँका किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नका लागि दुई ठाउँमा फूल खेती शुरु गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।

चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै जाने हुँदा आफ्नै गाउँ ठाउँमा यसको व्यावसायिक खेती गरी आर्थिक आम्दानीको बलियो स्रोतको रुपमा विकास गर्न सकिने भएकाले गाउँपालिकाले नमूनाको रुपमा खेती थालेको उहाँको भनाइ छ ।

अध्यक्ष थापाका अनुसार गाउँपालिकाले सुरु गरे पनि आगामी वर्षबाट बारिचौरस्थित लालीगुराँस घरवासको आर्थिक स्रोतको रुपमा फूल खेती हस्तान्तरण गरिनेछ । घरवासमा आउने आन्तरिक तथा बाह्य पाहुनालाई स्वागतका लागि प्रयोग गरिने फूल त्यहीँ उत्पादन हुने भएपछि स्थानीयलाई आम्दानी र रोजगारी दुवै मिल्ने गाउँपालिकाले जनाएको छ ।

पालिकाले लालीगुराँस घरवासलाई ‘फूलै फूलको होमस्टे’ को रुपमा विकास गर्ने योजनासहित अगाडि बढेको अध्यक्ष थापाले बताउनुभयो । गाउँपलिकाले विशेष गरी फूल खेतीको व्यवसायिकतामा जोड दिँदै आर्थिक आम्दानीको दरिलो स्रोतको रुपमा चित्रण गरी स्थानीयलाई फूल खेतीतर्फ प्रेरित गर्न खोजेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलको भनाइ छ ।

हाल सयपत्री र मखमली गरी दुई स्थानमा झण्डै १५ हजार बिरुवा लगाइएको छ । विशेष गरी मुख्य चाड दशैँ र तिहारलाई लक्षित फूल उत्पादन हुने गरी लगाइएको पौडेलले बताउनुभयो । स्थानीयले आफ्नै ठाउँमा रोजगारी पाएका छन् भने अर्कोतर्फ उक्त स्थानमा आएर फूल खेतीका बारेमा सीप सिक्ने अवसर पनि प्राप्त गरेका छन् । यसले गर्दा भोलि ईच्छा हुनेले आफ्नो छुट्टै व्यवसाय सञ्चालन गर्न सक्ने बताइएको छ ।

बीउ ल्याएर बेर्ना उत्पादन गर्ने र बेर्ना लगाउँदासम्म दुई स्थानमा गरेर झण्डै तीन लाख लागत लागेको छ । ‘फूल खेतीबाट लगानीको १० गुणासम्म आम्दानी गर्न सकिन्छ’, अधिकृत पौडेलले भने, ‘सुरुआत गर्दा तीन लाख लगानी भएको छ भने आम्दानी ३० लाखसम्म हुने अनुमान हाम्रो छ, फूल बिक्रीका लागि विभिन्न शहरका ब्यापारीसित बजारीकरणका लागि छलफल शुरु गरिसकेका छौँ ।’

पहिलो चरणमा गाउँपालिकाले नमूनाको रुपमा स्थानीयलाई फूल खेती गर्नतर्फ प्रेरित गरे पनि आगामी वर्षबाट पालिकाले नगरेर स्थानीयलाई प्रविधि, सीप, तालिम तथा आवश्यक सहयोग हस्तान्तरण गर्दै जाने गाउँपालिकाको लक्ष्य छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स