24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन हो : राष्ट्रपति पौडेल

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

शुक्रबार तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने अवस्था रहेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अबका दुई–चार वर्षमा सबै गाउँमा कालोपत्रे सडक पुर्‍याउन हामी लागेका छौँ तर समस्या त्यही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् रु विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने हाम्रो हालत छ । राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर गएर उतै बस्नुभयो । गाउँको समस्या यही हो । राष्ट्रपति पौडेलले आफूले पहिलो चोटि चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर “गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाउँमा नै बसौँ बसौँ बनाउँछु’’ भनेको स्मरण गर्नुभयो । आफूले ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौँ विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताउनुभयो । उहाँले गाउँ गाउँमा सबै विकास र सुविधा पुगे पनि गाउँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि दोस्रो पटक गृह जिल्ला पुग्नुभएको राष्ट्रपति पौडेलले आफूले बैदी–छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार–कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्नुहुँदै आफू त्यही एजेण्डामा आज पनि उभिएको स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स