20.1 C
Kathmandu
Saturday, April 25, 2026
spot_img

लक्ष्मीपूजामा स्वदेशी बिजुलीले देश झलमल, ७ सय प्राविधिक स्ट्याण्डबाइ

काठमाडौँ । लक्ष्मीपूजाको साँझ देशभर झिलिमिली बत्ती बल्छ । तिहारलाई यसैपनि उज्यालो चाडका रूपमा लिइन्छ । त्यसमध्ये धनकी देवी लक्ष्मी भित्र्याउने दिन अर्थात लक्ष्मीपूजामा देशभर झिलिमिली बत्ती बालिन्छ । यस्तो अवस्थामा सामान्य अवस्थाको तुलनामा देशभर बिजुलीको माग र खपत बढ्छ ।

यसपटकको तिहारमा बिजुली बत्तीको सहज आपूर्ति भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार लक्ष्मीपूजाको साँझ बिजुलीको व्यवस्थापनमा चाप नपर्ने बताए । नेपालमा उत्पादन नै १८ सय मेगावाट आसपास रहेको र लक्ष्मी पूजामा मुस्किलले १३ सय मेगावाट माग हुने भएकोले माग व्यवस्थापनमा समस्या नहुने उनको भनाइ छ ।

‘हाल नेपालको उत्पादन १८ सय मेगावाट आसपास भइरहेको छ, लक्ष्मीपूजामा मुस्किलले १३ सय मेगावाट खपत हुने आँकलन छ, त्यसैले माग व्यवस्थापनमा समस्या छैन,’ कार्यकारी निर्देशक घिसिङले रातोपाटीसँग भने । तिहारको समयमा देशभरका उद्योग कलकारखाना बन्द हुने भएकाले पनि लक्ष्मीपूजामा बिजुली आपूर्ति सहज हुने घिसिङको भनाइ छ । दसैंपछि दोस्रो ठूला चाड तिहारमा देशभरका उद्योगधन्दा बन्द हुन्छन् । जसले गर्दा ती उद्योगले गर्ने खपत स्वतः घट्छ । सोहीकारण, लक्ष्मी पूजाको दिन बिजुलीको सहज आपूर्ति हुने घिसिङले जनाए ।

७ सय प्राविधिक ‘स्ट्याण्डबाइ’
प्राधिकरणले लक्ष्मी पूजामा विद्युत आपूर्तिमा समस्या नआओस भनेर प्रत्येक वितरण केन्द्रमा दक्ष प्राविधिक जनशक्तिलाई स्ट्याण्डबाइ राखेको छ । कुनै कारणबस विद्युत आपूर्तिमा समस्या उत्पन्न भए तत्काल आपूर्ति सुचारु गर्नको लागि देशभरका प्रत्यक वितरण केन्द्रमा ५ देखि ७ जनाको दरले प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । यसो गर्दा देशभरमा करिब ७ सय जनशक्ति परिचालन हुने उनको भनाइ छ ।

‘फोन गरेको आधा घण्टामै आउँछ बत्ती’
प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित गराउने प्रमुख लक्ष्य लिएको छ । कुनै पनि कारणबस कुनै पनि क्षेत्रमा विद्युत आपूर्तिमा समस्या उत्पन्न भएमा उपभोक्ताले वितरण केन्द्रमा फोन गरेको आधा घण्टाभित्रमा विद्युत आपूर्ति नियमित गर्ने गरी जनशक्तिदेखि अन्य व्यवस्थापकीय प्रबन्ध गरिएको प्रवक्ता भट्राईले जानकारी दिए । यस्ता वितरण केन्द्रहरुमा सवारी साधन तथा अन्य उपकरण सहितको जनशक्ति उपलब्ध गराइसकिएको उनले बताए ।

बढी बिजुली भारत निर्यात
प्राधिकरणले गत वर्षदेखि भारततर्फ बिजुली निर्यात सुरू गरेको थियो । गत वर्ष राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले उत्पादन थालेदेखि भारततर्फको निर्यात सुरू भएको हो । गत वर्ष दैनिक ३९ मेगावाट निर्यात भएपनि यस वर्षको सुरूदेखि नै भारततर्फ करिब ३६४ मेगावाट बिजुली निर्यात भइरहेको छ ।

यसअनुसार जेठ महिनादेखि भदौ अन्तिमसम्ममा नेपालबाट भारततर्फ ८ अर्ब रुपैयाँभन्दा बढीको बिजुली निर्यात भइरहेको छ । सोहीअनुसार लक्ष्मी पूजाको दिन पनि भारततर्फ करिब ३६४ मेगावाट बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ । ‘लक्ष्मी पूजाको दिन पनि भारततर्फ निर्यात हुन्छ, नेपालको आपूर्ति धानेर बाँकी रहने बिजुली निर्यात गर्ने हो,’ उनले भने ।

नेपालको उत्पादन १८ सय मेगावाट रहेकामा १३ सय मेगावाट खपत हुन्छ । बाँकी रहेको ५०० मेगावाटमध्ये ३६४ मेगावाट बिजुली भारत निर्यात हुन्छ । यसअनुसार करिब डेढ सय मेगावाट बिजुली खेर जाने अवस्था छ ।

माथिल्लो तामाकोसीले बदलेको स्थिति
गत वर्षसम्ममा नेपालले ठूलो परिमाणमा भारतबाट बिजुली आयात गर्दै आइरहेको थियो । तर, २०७८ सालको असार तेस्रो सातादेखि उत्पादन सुरू भएको माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि भने अवस्था बदलिएको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले निर्माण सुरू भएको झण्डै १० वर्षपछि उत्पादन थालेपछि नेपालको अवस्था नै बदलिएको हो ।

माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि नेपालले भारततर्फ ३६४ मेगावाटसम्म बिजुली निर्यात गर्दै आइरहेको छ । यस्तै, थप डेढ सय मेगावाट बिजुली निर्यातको तयारी समेत नेपालतर्फबाट भइरहेको छ । अर्धजलाशययुक्त तामाकोसी अन्य समयमा बन्द गरेर ‘पिक आवर’मा उत्पादन गर्न सकिन्छ । सोहीकारण, नेपालले सुख्खायाममा समेत भारतबाट पर्याप्त बिजुली किन्न नपरेको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स