26.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

राष्ट्रिय परिचयपत्र बनाउनकै लागि बिहान ५ बजेदेखि लाइनमा

गोरखा । बारपाक सुलीकोट गाउँपालिका ७ पाँचखुवा देउरालीका मीनराज लामिछाने राष्ट्रिय परिचयपत्रको फाराम भर्नका लागि आइतबार बिहान जिल्ला प्रशासन कार्यालय गोरखा आइपुगे। त्यहाँ बुझ्दा बिहे दर्ताको कागज चाहिने र बिहान पाँच बजेदेखि लाइन बस्नु पर्ने भन्ने थाहा पाएपछि त्यसदिन फर्किए। बिहेदर्ताको प्रमाणपत्र बनाएर सोमबार बिहान साँढे आठ बजे प्रशासन कार्यालयको प्रांगण आइपुग्दा प्रशासन कार्यालयको आँगनमा ८७ जना लाइनमा बसिसकेका थिए। कागजपत्र फोटोकपी गरेर लामवद्ध हुन पुग्दा उनी एकसय जनाभन्दा पछाडि परे।

‘एकदिनमा एकसय जनाको मात्र फाराम भरिँदो रहेछ, तर म सय जनाभन्दा पछाडि परेँ’, उनले भने, ‘त्यसदिन अरु काम केही पनि थिएन। त्यत्ति कामका लागि सदरमुकामकै होटलमा बास बसेँ। मंगलबार बिहान पाँच बजे उठेर लाइन बस्न आएँ। त्यतिबेला आउँदा पनि २० जनाभन्दा पछाडि पुगेछु। जसोतसो फाराम भरेर फर्किएँ।’

पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीका कृष्ण पाण्डे छोराको राष्ट्रिय परिचय पत्र बनाउन सोमबार बिहान नौ बजे कार्यालय आइपुगेका थिए। उनी आइपुग्दा एकसय जना लाइनवद्ध भइसकेकाले फाराम भर्ने प्रयासै नगरी घर फर्किए। ‘आज त बिहान सातैबजे आएर लाइन बसेँ। म लाइनको २१ औँ नंबरमा थिएँ’, उनले भने, ‘तर आज दुर्भाग्यवश १० बजे प्रहरी आएर गेट खोल्यो। त्यसपछि लाइनको केही मतलब नगरी सब जना लड्भिड् गरी झ्यालमा अर्को लाइन बस्न पुगे। बलियाबाङ्गाहरु अगाडि बस्न पुगे। म २१ नंबरको मान्छे ३५ औँ नंबरमा पुगेँ। कमजोर महिला, बुढाबूढीहरु र अभद्र व्यवहार देखाउन नचाहनेहरु उछिनपाछिन गर्न सकेनन्। बिहानभर लाइनमा बसेका बिचराहरु आजपनि त्यत्तिकै फर्किए।’

बिहानभर लाइन बसेर फाराम भर्न नपाई फर्कनु पर्दा उनीहरु बिलौना गर्दै, रुँदै फर्किएको उनले बताए। ‘आज त झन एकसय जनाको पनि फाराम भरेन’, उनले भने, ‘लाइनमा बसेका ९१ जनाको मात्र फाराम भर्‍यो। नियमअनुसार लाइनमा बसेका बाँकी नौ जना पनि दिनभर लाइनमा बसेर फाराम भर्न नपाई फर्किए।’ दैनिक एकसय जनाको फाराम भर्ने नियम बनाएर नियम अनुसार सेवा नपाएको भन्दै सेवाग्राहीले गुनासो गरेका उनले बताए।

जिल्लाभरको सरकारी कार्यालयमा हुने गरेका बेथितिलाई समेत नियमन गर्ने जिम्मेवार जिल्ला प्रशासन कार्यालयमा दिनहूँ हुने गरेको बेथितिप्रति सेवाग्राहीले गुनासो गर्ने गरेका छन्। ‘राष्ट्रिय परिचय पत्र गाउँपालिका अथवा वडा कार्यालयबाटै फर्म भर्ने व्यवस्था भए सेवाग्राहीले दुख पाउनु पर्ने थिएन’, मीनराज लामिछाने भन्छन्, ‘सेवाग्राहीहरु बिहान पाँच बजेदेखि लाइन बस्न आउनु परेको छ। दिनभर लाइन बस्नेहरु पनि रित्तै फर्कनु परेको छ। सोर्सफोर्स लगाउनेहरुले लाइन मिचेर पनि बनाएका छन्। यो त अति नै बेथिति भयो।’ कार्यालयले राष्ट्रिय परिचय पत्र बनाउने काउण्टरको संख्या थप्न सके यस्तो समस्या नआउने कृष्ण पाण्डेको भनाइ छ। ‘कतिपय कार्यालयमा कामको भार कम छ। त्यस्ता कार्यालयबाट कर्मचारी झिकाएर, काउण्टर थपेर पनि त सेवाग्राहीलाई सेवा दिन सकिन्थ्यो’, उनले भने, ‘व्यवस्थित गर्ने विकल्प भएर पनि प्रशासकको इच्छाशक्ति नभएको हो कि, क्षमता नभएको हो कुन्नि रु’

तर जिल्ला प्रशासन कार्यालयले भने सेवाग्राहीहरु यसरी मरिहत्ते गरेर राष्ट्रिय परिचय पत्र बनाउन आउन जरुरी नभएको तर्क गर्ने गरेको छ। ‘हामीले सक्दो व्यवस्थित बनाउने प्रयास गरिरहेका छौँ’, कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, ‘अर्को महिनादेखि त हामी गाउँ गाउँमा अभियान लिएर जानेछौँ। अति आवश्यक भएकाहरु मात्र आए यत्तिको भीड हुने थिएन।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स