29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपत्यकाका विद्यालय कतै बन्द,कतै खुला

काठमाडौँ । काठमाडौं महानगरले आइतबारदेखि विद्यालय खोल्न अनुमति दिएको छ । मापदण्ड अपनाएर विद्यालय खुलाउन पाइएपछि कतिपयले भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् भने कतिपयले अनलाइन माध्यमबाटै पढाइरहेका छन् ।

विद्यार्थी संख्या धेरै भएका विद्यालयले अनुमति पाए पनि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरेका छैनन् । बानेश्वरको भीमसेनगोला माध्यमिक विद्यालय, सिद्धेश्वरी माध्यमिक विद्यालय, गुह्येश्वरीलगायतका विद्यालयले भौतिक उपस्थितिमै विद्यालय सुरु गरेका हुन् ।

भीमसेनगोला माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशकुमार राईले महानगरले विद्यालय खुलाउने निर्णय गरेपछि भौतिक उपस्थितिमा सुरु गरिएको बताए । ‘हामीले महानगरले निर्णय गरेकाले विद्यालय खुलाएका हौँ,’ उनले भने, ‘विद्यालय आउन पाएपछि विद्यार्थीको संख्या बढेको छ । अनलाइन पढाउँदा विद्यार्थी नै हुँदैन थिए ।’

यस्तै, सिद्धेश्वरी माविका प्रधानाध्यापक प्रभाकर न्यौपानेले पनि सबै कक्षाका विद्यार्थीलाई भौतिक उपस्थितिमा पढाउन थालिएको बताए । ‘महानगरले खुलाउन दिएपछि खुलायौँ,’ उनले भने, ‘हाम्रो विद्यालयमा थोरै विद्यार्थी थिए । स्वास्थ्य मापदण्ड अपनाउन पनि सहज छ ।’

धेरै विद्यार्थी संख्या हुने विद्यालयले भने अनलाइन कक्षा नै सञ्चालन गरिरहेका छन् । मध्यबानेश्वरको रत्नराज्य विद्यालयले स्वास्थ्य मापदण्ड अपनाउन नसकिने भएकाले नलगाएको प्रधानाध्यपक रामाशीष यादवले बताए । ‘हाम्रो विद्यालयमा विद्यार्थीको धेरै चाप छ,’ उनले भने, ‘अनलाइनबाटै पढाइरहेका र्छौँ । स्वास्थ्यका हिसाबले सहज भइसकेको छैन । हामी विद्यार्थीको स्वास्थ्यमा गम्भीर छौँ ।’ दसैँ–तिहारपछि मात्रै खुलाउन सकिने उनले बताए ।

विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएका विद्यालयमा राम्रो स्वास्थ्य सुरक्षा भने अपनाउन सकिएको छैन । पुरानै अवस्थामा विद्यालय सञ्चालन गर्दा स्वास्थ्य जोखिम हुने स्वास्थ्यविज्ञहरू बताउँछन् । तर, खुलेका विद्यालय हेर्दा सञ्चालन तरिका पुरानै छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स