19.1 C
Kathmandu
Wednesday, May 13, 2026
spot_img

सुन्तलाको बिरुवा बिक्री नहुँदा म्याग्दीका कृषक निराश

म्याग्दी । म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तलाको बिरुवा बिक्री नहुँदा उनीहरु निराश भएका छन् । नयाँ नर्सरी बढे पनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा परेका छन् । रघुगङ्गा गाउँपालिका–२ को भगवती कृषि फार्मका सञ्चालक बालकृष्ण कटुवालले स्थानीय तहको नीतिगत कमजोरीले बिरुवाले बजार नपाएको बताए।

“स्थानीय तहका कृषि शाखाले सस्तो भनेर बाहिरी जिल्लाबाट ल्याएर बाँडेका बिरुवा हावापानी नमिलेर मरेका छन्”, उनले भने, “हामीले उत्पादन गरेका बिरुवा बिक्री नभएर उखेलेर फाल्नुपर्ने अवस्था आएको छ ।” कूल ४७ हजार सुन्तलाका बिरुवा उत्पादन गरेका कटुवालले सोमबार १८ हजार बिरुवा ल्याएर मौवाफाँटस्थित गाउँपालिका कार्यालय अगाडि फालेर विरोध जनाएका थिए ।

पछिल्लो समय नर्सरी स्थापना हुनेक्रमसँगै म्याग्दीमा सुन्तला जात बिरुवाको उत्पादन बढेको छ । बजार बिस्तार हुन नसकेकाले बिरुवा नबिकेको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषक दुर्गादत्त सुवेदीले बताए। वडा सदस्यसमेत रहेका सुवेदीका अनुसार फगाममा उत्पादन भएकामध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएको छैन ।

बेनपा–९ र १० नम्बर वडाका चार फार्ममा टिमुरका ५० हजार र वडा नं ३ मा दुई लाख ३० हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानियाँले बताए।

“म्याग्दीमा उत्पादन भएको बिरुवाले गण्डकी प्रदेशलाई पुग्न सक्छ”, उनले भने,“स्थानीय तहले जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने कृषकमुखी नीति बनाउन नसके कृषक पलायन हुने अवस्था आउँछ ।”

जिल्ला दरअनुसार प्रति सुन्तलाको बिरुवाको मूल्य रु २५ छ । स्थानीय तहका कृषि शाखाले प्रतिस्पर्धामार्फत रु २० को हाराहारीमा बिरुवा खरिद गरेका छन् । बाहिरा जिल्लाबाट ल्याइने बिरुवा सस्तो भए पनि हावापानी नमिलेर मर्ने र रोगकिरा भित्रने गरेको कृषकले बताएका छन् ।

रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा सस्तो दरमा कबोल गर्ने फार्मसँग बिरुवा आपूर्तिको सम्झौता गरिएको र उसले उपलब्ध गराएका बिरुवा हावापानी नमिल्ने भएको पुष्टि भए कारबाही गरिने बताए।

वर्षा पर्याप्त हुने भएकाले असार, साउन र भदौमा सुन्तलाका बिरुवा रोप्ने गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत विक्रम बस्यालले डेढ वर्षका बिजु बिरुवा रोप्न योग्य हुने बताए। कृषकलाई सङ्गठित बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स