19.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

शीत भण्डारमा राख्दा पनि आलुको बिउ बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति

स्याङ्जा । स्याङ्जामा भण्डारण गरेको बिउ आलु बिग्रिए पनि किसानले क्षतिपूर्ति पाउन सकेका छैनन्। भीरकोट नगरपालिका ५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरूको गुनासो छ।

पकानका किसानले सामूहिक वा व्यक्तिगतरूपमा उत्पादन गरेको बिउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ-११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राखेको पकानका अगुवा किसान शेषकान्त तिवारीले बताए। शीत भण्डारमा राखिएको बिउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँदा यहाँका धेरै किसान मर्कामा परेको उनले बताए।

‘महँगो पर्ने बिउ आलुको सुरक्षित भण्डारणका लागि शीत भण्डारमा राख्यौं,’ उनले भने, ‘शीत भण्डारको प्राविधिक समस्या हो या के हो भण्डारण गरिएको बिउ लगाउन नहुने प्राविधिकले राय दिएपछि त्यही छोडेका हौं।’ बिउ आलु बिग्रिएको करिब डेढ वर्ष भइसक्दासमेत शीत भण्डारले उचित क्षतिपूर्ति नदिएकोमा आफूजस्तै यहाँका सबै किसान मर्कामा परेको उनले दुःख जनाए।

यहाँका किसालने उत्पादन गरेको बिउ आलुको भण्डारणका लागि भीरकोट नगरपालिका कार्यालय र शीत भण्डारबीच सम्झौता भई पेश्कीस्वरूप एक लाख ५८ हजार रुपयाँ शीत भण्डारलाई दिइएको निवर्तमान नगर प्रमुख छायाराम खनालले बताए।

‘भण्डारण गरिएको बिउ आलु प्राविधिकको राय बमोजिम लगाउन योग्य नभएपछि नगरपालिका कार्यालय, शीत भण्डार सञ्चालक र सम्बन्धित किसान बसेर क्षतिपूर्तिका विषयमा सहमति गरेका थियौं,’ निवर्तमान प्रमुख खनालले भने, ‘प्रतिकेजी ४० रुपैयाँका दरले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भयो तर अहिलेसम्म पनि शीत भण्डारले क्षतिपूर्ति उपलब्ध गराएको छैन।’

सहमति अनुसार किसानले क्षतिपूर्ति नपाएको गुनासो बढ्दै गएपछि भीरकोट नगरपालिका कार्यालयले शीत भण्डारका नाममा क्षतिपूर्ति उपलब्ध गराउनका लागि पत्राचार गरेको नगरपालिका कार्यालयले जनाएको छ। शीत भण्डारको क्षमता १० टन रहेको र बढीमा १२ टनसम्म भण्डारण गर्न सकिने भनिएकोमा किसानको धेरै आलुको बिउ आएकाले समस्या भएको शीत भण्डार सञ्चालक श्यामप्रसाद ढुङ्गानाले बताए।

‘शीत भण्डारको क्षमताभन्दा धेरै आलुको बिउ हुँदा पनि समस्या आयो,’ सञ्चालक ढुंगानाले भने, ‘तीन पक्षबीच भएको वार्तामा किसानलाई क्षतिपूर्ति दिने सहमति भएको हो, केही ढिलो भएको छ क्षतिपूर्ति नदिने पक्षमा छैनौं, दिन्छौ।’ शीत भण्डारमा आलुका लागि जुन तापक्रम आवश्यक पर्ने हो सोभन्दा बढी तापक्रम भएकाले आलु उम्रिएको उनले बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स