19.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

बाघको त्रासले घरभित्रै ‘दिसा–पिसाब’ गर्न बाध्य स्थानीय

नेपालगञ्ज । राप्तीसोनारी गाउँपालिका– ६ हब्रहवाका रामप्रसाद थारु साँझ पर्नेबित्तिकै घरभित्र पस्छन्। बिहान नहुँदासम्म रामप्रसादका परिवार घरबाहिर निस्किँदैनन्। राति दिसा र पिसाब लागेमा उनीहरुले भित्रै व्यवस्थापन गर्छन्। रामप्रसाद भन्छन्, ‘घरबाहिर बाघ आउँछ भन्ने डर छ। साँझ घरभित्र पसेपछि एकैपटक बिहान बाहिर निस्किन्छौं। दिसा, पिसाब लागेमा भित्रै गर्छौं। त्यसका लागि डब्बा राखेका छौं।’

हब्रहवाका चाँदनी थारुको गत शनिबार दाउरा काट्न जाँदा बाघको आक्रमणबाट मृत्यु भएको थियो। चाँदनीको शवलाई भोलिपल्ट राप्ती नदीमा दाहसंस्कार गरिएको थियो। दाहसंस्कार गरेको ठाउँमा समेत बाघ आएको बताइएपछि स्थानीयवासी त्रसित छन्। हब्रहवा गाउँ हुलाकी सडकदेखि दक्षिणमा पर्छ। सडकको उत्तरमा जंगल छ। गाउँमै बाघ आएको थाहा पाएपछि हब्रहवामात्रै होइन, सिधनुवा गाउँका बासिन्दा पनि त्रसित छन्। दुवै गाउँका मानिस साँझ परेपछि घरभित्र छिर्छन् र भोलिपल्ट बिहानमात्रै बाहिर निस्किन्छन्।

सिधनुवाका कमलाकुमारी चौधरीले रातमा कोही पनि घर बाहिर ननिस्किने बताइन्। ‘हामीमात्रै होइन, गाउँका कोही पनि रातमा बाहिर निस्किँदैनन्। सबैले घरभित्रै डब्बा राखेर दिसापिसाब गर्दे आएका छौं’, कमलाकुमारीले भनिन्, ‘बाहिर निस्किँदा बाघले खायो भने त मरिहालिन्छ। दिसा, पिसाब त सफा गरे भइहाल्छ नि ?’

यतिबेला हब्रहवा, सिधनुवा गाउँका हरेक घरको अगाडि आगो बाल्ने गरिन्छ। सडकका पोलमा बत्ती राखिएको छ। आगो र बत्ती बाल्दा उज्यालोमा बाघ आउँदैन भन्ने विश्वास स्थानीयवासीमा छ। घरबाहिर आगो बाल्ने र मान्छे जति साँझ पर्नेबित्तिकै घरभित्र पस्ने गर्दै आएको छन्। स्थानीय फूलरानी थारुले साँझ परेपछि गाउँ नै सुनसान हुने बताइन्।

बाँकेमा बाघको आक्रमणबाट दुई दिनको फरकमा दुई जनाको मृत्यु भएपछि ती गाउँका मानिस त्रसित छन्। नरभक्षी बाघलाई नियन्त्रण गर्नका लागि चितवन र बर्दियाबाट निकुञ्जसम्बद्ध आएका छन्। उनीहरुले हात्तीको प्रयोग गरेर बाघको खोजी गरिरहेका छन्। पछिल्लो तीन महिनामा बाँकेमा बाघले चार जनाको ज्यान लिइसकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स