27.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका परिवारलाई गाउँपालिकाद्धारा सहयोग

मनाङ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई मनाङको ङिस्याङ गाउँपालिकाले राहत सहयोग गरेको छ । सङ्क्रमणले गर्दा ज्यान गुमाएका परिवारलाई राहत पुर्याउने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको सो गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। उनका अनुसार पालिकावासीलाई समाजमा सहज बनाउन राहत प्रदान गरिएको हो ।

प्रतिव्यक्ति रु एक लाखका दरले राहत प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए। सहयोगले सङ्क्रमणबाट ज्यान गुमाएकाको परिवारलाई थोरै भए पनि राहत मिल्ने उनले बताए।

हालसम्म जिल्लाभरमा सङ्क्रमितको २२३ सङ्ख्या पुगेकोमा चारजनाले ज्यान गुमाएका थिए । दुईजना अन्य जिल्लाका भएकाले राहत उपलब्ध गराउन नसकिएको र जिल्ला एवं गाउँपालिकाभित्रका सङ्क्रमणका कारण ज्यान गुमाएको परिवारलाई राहत व्यवस्थापन गरिएको यादवले बताए।

जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । सरकारद्वारा लक्षित बालबालिकालाई समेत खोप लगाइएको आचार्यले बताए। उनका अनुसार हालसम्म जिल्लाको तल्लो भागका १७५ बालबालिकालाई खोप लगाइसकिएको छ । नासों गाउँपालिका र चामे गाउँपालिकाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको उनले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स