25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

नगरपालिकाको सहयोगमा फुसको छाना हटाएर जस्तापाता, स्थानिय खुसि

सिन्धुलीमाढी । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१३, अरुणठाकुरका पुनाकुमारी मगरको घरको छानोमा अहिले रातो जस्तापाता टल्किएको छ । वर्षौंदेखि खर (फुस)ले छाएको घरमा बस्दै आएका पुनाकुमारीको परिवारलाई नगरपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराएपछि उहाँको घरमा रातो जस्तापाता लगाइएको हो ।

उहाँले भन्नुभयो, “आफ्नै खर्चमा जस्तापाताले घर छाउन सकिरहेको थिइनँ । नगरपालिकाले जस्तापाता निःशुल्क दिएर ठुलो सहयोग गर्यो।” घरमा जस्तापाता लगाएसँगै आगलागी र हुरीको जोखिम घटेको उहाँले सुनाउनुभयो । नगरपालिकाले निःशुल्क जस्तापाता र किलाकाँटी उपलब्ध गराएको र अन्य खर्च सम्बन्धित व्यक्तिले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

सोही स्थानका नरबहादुर खड्काले पनि यो वर्ष खर हटाएर घरको छानोमा रातो जस्तापाता लगाउनुभएको छ । वडा कार्यालयको सिफारिसमा आफूले जस्तापाता नगरपालिकाबाट निःशुल्क पाएको जानकारी उहाँले दिनुभयो । दुधौली नगरपालिका–१२ मा मात्रै यो वर्ष ६५ घरको छानोबाट खर हटाएर जस्तापाता लगाइएको छ । नगरपालिकाको नगर क्षेत्रका घरमा खरको छानो हटाउने अभियान अन्तर्गत ती घरपरिवारले निःशुल्क जस्तापाता पाएको नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष दीपक खड्काले जानकारी दिनुभयो ।

दुधौली नगरपालिकाले आव २०७९र८० को नीति तथा कार्यक्रममा तीन वर्षभित्र नगर क्षेत्रका घरबाट खरको छानो हटाउने कार्यक्रम समावेश गरेको थियो । आगलागीका घटना न्यूनीकरण गर्न र गरिब परिवारलाई सहयोग गर्न खरको छाना हटाएर जस्तापाताले छाउने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान अन्तर्गत गत आर्थिक वर्षमा २३० घरधुरीमा रङ्गीन जस्तापाता लगाइएको छ । प्रवक्ता खड्काले भन्नुभयो, “तीन वर्षभित्र नगर क्षेत्रका सबै घर खरको छानोमुक्त बनाउने योजना छ । गत आवदेखि १४ वटै वडामा कम्तीमा पनि १५ वटा घरका दरले खरको छानो हटायौँ ।”

यस्तै वडा नं.–१३ मा प्रदेश सरकारको सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ४९ घरमा खरको छानो हटाउने काम सुरु भएको छ । प्रदेश सरकारले खरको छानो हटाउन एक घरलाई ६० हजार रुपियाँ अनुदान उपलब्ध गराउँछ । उक्त बजेटमध्ये जस्तापाता किन्न पहिलो किस्तामा ३० हजार रुपियाँ र बाँकी रकम काम सम्पन्न गरेपछि उपलब्ध गराउने प्रवक्ता खड्काले बताउनुभयो ।

नगरपालिकाका भवन शाखाका इन्जिनियर शिव शर्माले गत आवमा नगरपालिकाले ९० हजार रुपियाँको रङ्गीन जस्तापाता खरिद गरी निःशुल्क वितरण गरेको बताउनुभयो । “नगरपालिकाको पहाडी क्षेत्रका वडा नं। १२, १३ र १४ मा खरको छानो हटाउने घर बढी छन् । नगर क्षेत्रमा अझै खरले छाएका करिब छ सय घर बाँकी छन् ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स