दार्चुला । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बाढी पहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार विस्थापित भएको जानकारी दिए । उनका अनुसार कुल ९१ घरमा क्षति भए पनि ४२ घर भने पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । ९ घरमा आशिंक क्षति र ४० घर उच्च जोखिममा परेका छन् । पूर्ण, आंशिक र जोखिममा समेत गरेर महाकाली नगरपालिकामा ६२ र नौगाड गाउँपालिकामा २९ घर रहेका छन् ।
बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन् । पहिरोबाट घाइते ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक मगरले बताए । उनका अनुसार नौगाड गाउँपालिका–२ कि १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की, महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
उनीहरुमध्ये चार जना घरमाथिबाट आएको पहिरोमा पुरिएको अवस्थामा मृत भेटिएका हुन् भने मानमती कार्की भने महाकाली नदीले बगाएको अवस्थामा भेटिएकी हुन् । दुई पालिकामा गरी चार पुरुष र ६ महिला गरेर १० जना बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको छ ।

