काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट जडान गर्ने सरकारको निर्णय कार्यान्ययन गर्न कटिबद्ध रहेको जनाएको छ। सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट जडानका विषयमा सर्वत्र आलोचना भएपछि यो कार्यमा दवाव रणनीति अपनाइएको स्पष्ट पारेको हो।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ईम्बोस्ड नम्बर प्लेट जडानको विषय नयाँ नभएको र सार्वभौम संसदबाट निर्माण गरिएको कानुनको कार्यान्वयनमा तिव्रता दिई सिर्जित दायित्व समयमै पुरा गर्ने तर्फ केन्द्रित रहेको बताएको हो।
सूचनामा भनिएको छ, ‘सार्वभौम संसदबाट निर्माण भएका कानुन, सम्मानित अदालतका आदेश र अन्य प्रचलित कानुनको कार्यान्वयन गर्नु सार्वजनिक निकायको कर्तव्य हो। यसका लागि आवश्यक पूर्वाधारको तयारी र योजना तयार गर्नुपर्ने विषयमा विभाग सचेत छ। २०७९ श्रावण देखि २०७८ कार्तिकमा प्रकाशित सुचना बमोजिम अनिवार्यरुपमा जडान गर्नुपर्ने भनिएका प्रकृतिका सवारी साधनमा त्यस्तो प्लेट जडान भएरनभएको अनुगमन गरिने र अन्य सवारीको हकमा सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुले निर्धारण गरेको समय तालिका अनुसार लट अनुसार सवारीमा ईम्वोस्ड नम्बर प्लेट जडान गर्दै सम्झौताको वाकी समयमा २५ लाख सवारीमा यस्ता प्लेट जडान गर्ने भन्ने नै हो।’
विभागका महानिर्देशक नमराज घिमिरेले ईम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यक पूर्वाधार तयार नगरी कार्यान्वयनमा ल्याईएको भन्ने भनाई सत्य नभएको बताए। विभागको तर्फबाट ईम्बोस्ड नम्बर प्लेट जडानको लागि गर्नुपर्न आवश्यक सवै पूर्वाधार तयार गरी सकेर विभागले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले स्पष्ट पारे।
राज्यका नीति कार्यान्वयनका लागि मुख्यतः दुई रणनीति अवलम्बन गरिने भन्दै पहिलो लाभ असफल भएपछि दवाव रणनीति अपनाउने गरिन्छ। ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने सन्दर्भमा पनि यहि रणनीति कार्यान्वयनमा ल्याईएको विभागले जनाएको छ।
उत्पादन भएका नम्बर प्लेटहरु समयमै सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा ढुवानी गर्न हुलाक सेवा विभागसँग सम्झौता गरिसकिएको विभागले जनाएको छ। विभागले जारी गरेको सूचनामा भनिएको छ,‘नम्बर प्लेट जडान गर्न सवारीको सम्पूर्ण विवरण यातायात व्यवस्था कार्यालयहरुमा हुने भएकोले सवारी धनीले अनलाईन प्रणालीमार्फत गरेको आवेदन र त्यससँग सम्वन्धित विवरण रुजु गरी ईम्बोस्ड नम्बर प्लेट प्रदान गर्ने जिम्मेवारी सम्बन्धित यातायात व्यवस्था कार्यालयको हो। यसरी कार्यालयबाट जारी भएको ईम्बोस्ड नम्बर प्लेट सम्बन्धित सवारी साधनको धनीको वायोमेट्रिक सुचनासहित पर्सनलाईजेशन गर्ने र फिटिङ गर्ने जिम्मेवारी सेवा प्रदायक (डेकाट्र टाईगर आईटी) को हो। यसको लागि विभागले समन्वयकारी भूमिका निर्वाह गर्ने हो।’

