17.1 C
Kathmandu
Wednesday, April 22, 2026
spot_img

स्थानीय तहको चुनाव गर्न गाउँपालिका, नगरपालिका र जिसस महासंघको माग

काठमाडौँ । स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न जनप्रतिनिधिहरूको तीन वटा संस्थाले माग गरेका छन्।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन प्रक्रिया सुरू गर्नुपर्ने उल्लेख गरेका हुन्। जेठभित्र स्थानीय तहको निर्वाचन गरिसक्न उनीहरूको माग छ।

संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ ले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेकोले तत्काल निर्वाचनको मिति तय गर्न उनीहरूले माग गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र जिसस महासंघ अध्यक्ष नवराज गेलालले आज निकालेको विज्ञप्तिमा तोकिएको समयमा नै आवधिक निर्वाचन गरिनुपर्ने बताएका हुन्।

‘निर्वाचनको वातावरण सिर्जना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको समेत गम्भीर ध्यानाकर्षण गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । आफूहरूले समयमा नै निर्वाचन होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहेको उनीहरूले बताएका छन्।

स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लागेको छ। यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन गरिएको थियो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ। तर सरकारले निर्वाचन मिति घोषणा भने गरिसकेको छैन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स