25.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

पुल नहुँदा जोखिम मोलेर आउजाउ गर्न बाध्य हुम्लाबासि

हुम्ला । उत्तरी चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका– ६ लिमी जाने बाटोमा पर्ने कर्णाली नदीमा पुल नहुँदा स्थानीयबासी जोखिम मोलेर आउजाउ गर्न बाध्य छन । पुल नहुँदा स्थानीयलाई पुस्तौंदेखि जोखिम मोलेर सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो ।

नाम्खा गाउँपालिका–६ स्थित लिमी जान दुई बाटो छन् । दुवै बाटोबाट आउजाउ गर्दा पनि हिमनदी तर्नुपर्ने बाध्यता भएको लिमीको हल्जीगाउँका गिमेत तामाङले बताउनुभयो । ‘हिउँदमा त जसोतसो हिमनदी तरिन्छ,’ उहाँले भन्नुभयो, ‘वर्षामा भने भगवानको नाम पुकार्दै नदी तर्नुपर्ने बाध्यता छ ।’

न्यालु लेकबाट लिमी जाने बाटो अप्ठेरो भएकाले अधिकांश स्थानीयले कर्णाली नदीको बाटो भएर सदरमुकाम आउजाउ गर्ने गरेका छन् । ‘तुम्लिङमा पुल बने हामीलाई धेरै सुविधा हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर पुल नबन्दा बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई सदरमुकाम आउजाउ गर्न समस्या छ ।’ उहाँले बाटोमा पर्ने लिङखोलामा पनि पुल नबनेको बताउनुभयो ।

पुल नहुँदा ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता भएको लिमीकी पासाङ तामाङले बताउनुभयो । ‘मानिस एक्लै हुँदा नदी तर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘चाररपाँच जना मानिस जम्मा भएर मात्र नदी तर्ने गरेका छौं ।’ पुल निर्माण गर्न पटकपटक विभिन्न निकायमा आग्रह गरिए पनि बेवास्ता भएको उहाँको गुनासो छ ।

लिमीमा सामाजिक सुरक्षा भत्ता बुझाउन गएकी वडा सचिव हिरा शर्माले तीन जना साथीसँग मिलेर मात्र नदी तर्न सकिएको बताउनुभयो । ‘सदरमुकाम आउने र लिमी जानेहरू ठूलो कष्ट व्यहोरेर नदी तर्न बाध्य छन्,’ उहँले भन्नुभयो, ‘नदी तर्न नसक्नेहरू सदरमुकाम आउन पनि वञ्चित छन् ।’ नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले मंसिरमा पानी कम भएपछि मात्र नदी तर्न सकिने बताउनुभयो ।

कर्णाली नदीस्थित तुम्लिङमा पुल आग्रह गर्दै प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराइए पनि बेवास्ता भएको वडाध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार यो मौसममा हिमालको हिउँ पग्लिने भएकाले चिसोका कारण पनि नदी तर्न समस्या भएको हो । ‘वडा र पालिकासँग पुल बनाउने पर्याप्त बजेट हुँदैन,’ उहाँले भन्नुभयो, ‘माथिल्ला सरकारले सुन्दैनन ।’ तिल, जाङ र हल्जीगाउँ मिलेर बनेको लिमीको जनसंख्या १ हजार १ सय छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स