25.4 C
Kathmandu
Friday, August 15, 2025
spot_img

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता कार्यक्रम छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले बताए ।

राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेको छन्। निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल रहेका छन् ।

जसमा एमाले, काँग्रेस, एकीकृत समाजवादी र जनमोर्चाले मात्र उम्मेदवार टुंगो लगाएका छन् । एमालेले रिक्त १९ सिटमा एकल उम्मेदवारी दिएको छ भने काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच चुनावी तालमेल भएको छ । काँग्रेसले ६, माओवादीले ५, एकीकृत समाजवादीले ५, जसपाले २ र जनमोर्चाले एक सिटमा उम्मेदवारी दिँदै छन् ।

यस्तो छ निर्वाचन कार्यक्रम

आज २० गते उम्मेदवारी दर्ता हुने छ भने २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने कार्यक्रम छ । यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । आयोगले मतदानका लागि प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एक–एक वटा मतदान केन्द्रभित्र दुई–दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स