काठमाडौं । टोखा नगरपालिकाले नगर क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासनलाई थप प्रभावकारी बनाउन अत्याधुनिक सीसीटीभी क्यामेरा प्रणाली जडान गर्ने भएको छ।
यसका लागि टोखा नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबीच द्विपक्षीय समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक सुरिल सिंह राठौरले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को अन्त्यसम्म नगरपालिकाभित्र पहिचान गरिएका मुख्य–मुख्य सडक, चोक तथा अन्य संवेदनशील स्थानमा नेपाल प्रहरीले निर्धारण गरेको मापदण्डअनुसार सीसीटीभी प्रणाली जडान गरिनेछ।
नगरपालिकाले यस कार्यक्रमका लागि जनता सुरक्षा कार्यक्रमअन्तर्गत ४ करोड रुपैयाँ उपलब्ध गराउने जनाएको छ। सीसीटीभी प्रणाली खरिद तथा जडानसम्बन्धी प्रक्रिया भने प्रचलित सार्वजनिक खरिद कानुनबमोजिम काठमाडौं उपत्यका प्रहरी कार्यालयले सञ्चालन गर्नेछ।
जडान हुने प्रणालीमा Pan Tilt Zoom (PTZ), FLX, Face Recognition तथा ANPR (गाडीको नम्बर प्लेट पहिचान गर्ने प्रणाली) लगायतका आधुनिक प्रविधि प्रयोग गरिनेछ। यसबाट नगर क्षेत्रको सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार सीसीटीभी प्रणालीको सञ्चालन, व्यवस्थापन तथा अनुगमनका लागि नगरपालिका र प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त समिति रहनेछ। समितिले प्रणालीबाट प्राप्त उपलब्धि तथा नगरको सुरक्षा र सुशासनमा परेको प्रभावको मूल्यांकन गर्दै आगामी दिनमा यसको निरन्तरता, विस्तार र क्षमता अभिवृद्धिका लागि आवश्यक सिफारिस गर्नेछ।
टोखा नगरपालिकामा यसअघि जडान भई सञ्चालनमा रहेका सीसीटीभी प्रणालीलाई समेत नयाँ प्रणालीसँग आबद्ध गर्दै एकीकृत सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले अत्याधुनिक सीसीटीभी प्रणालीले टोखा नगरलाई सुरक्षित बनाउनुका साथै सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, वातावरणीय सरसफाइ तथा सार्वजनिक सुरक्षाका क्षेत्रमा समेत थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सुरक्षित र समृद्ध टोखा निर्माणको अभियानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, जनप्रतिनिधि, नागरिक समाज तथा नगरवासीको सहयोग र सहकार्यका लागि नगरपालिकाले आभार व्यक्त गरेको छ।

