29.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

सडक बिजुली र खानेपानी पुगेपछि फेरियो गाउँको मुहार

बैतडी । प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय सरकारले बिजुली पु¥याएपछि दुर्गम गाउँको मुहार फेरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय सरकारले बिजुली बिस्तार गर्दा बैतडीको सिगास गाउँपालिका –३, गाउँको मुहार फेरिएको हो ।

गाउँमा एकैचोटी सडक, बिजुली र खानेपानी पुग्दा सिगास–३, को लगन, ठूलीसैनी, हल्कासैनी, चमडेखर्क लगायतका गाउँमा परिवर्तन देखिन थालेको स्थानीय बीरमा धामीले बताउनुभयो । प्रदेश सरकारले तीन करोड रुपियाँभन्दा बढीको खानेपानी योजना दिएपछि गाउँमा रोजगारी समेत सिर्जना भएको धामीले बताउनुभयो ।

“दैनिक ज्याला मजदुरीमा गाउँलेले खानेपानीका पाईप गाड्ने काम पाएका छन्”, बीरमाले भन्नुभयो, “आफ्नै घरमा खानेपानीको धारा बन्दैछ । पाईप गाड्ने काम पाउँदा रोजगारी सिर्जना भएको छ ।” गाउँमा विकास हुन थालेपछि रोजगारीका लागि भारत जाने एक सयभन्दा बढी युवा गाउँमै काम पाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुन्दरसिंह धामीले बताउनुभयो ।

धामीले भन्नुभयो, “खानेपानीको योजनामा मात्रै एक सयभन्दा बढी युवा र ग्रामीण महिलाले रोजगारी पाएका छन् । पाइपलाईन खन्ने सबै काम स्थानीयले गरिरहेका छन् । गाउँमा पानी आएपछि दैनिक दुई घण्टा हिँडेर पानी बोक्नुपर्ने बाध्यता हटेको छ । बिजुलीका पोल गाडेर बत्ती बाल्ने तर्खरमा छौं ।” गाउँमा खानेपानी र बिजुली पुग्दा रोजगारी पाउँदा खुसी लागेको स्थानीय मजदुर जयभानसिंह धामीले बताउनुभयो ।

डोजरले सडक निर्माण हुँदा भने स्थानीयले कुनै रोजगारी नपाएको गुनासो गरेका छन् । डडेल्धुरा–बैतडी जोड्ने दशरथचन्द मार्गको विप्याकटालदेखि सिगास–३, दुलैनसम्मको १४ किलोमिटर सडक प्रदेश सरकारले निर्माण गर्दा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र गाडी चढ्न सहज भएकोमा खुसी लागेको राजेन्द्र धामीले बताउनुभयो ।

गाउँमा सडक पुग्दा दैनिक उपभोग्य वस्तु ढुवानी मूल्य आधाले घटेको रनवीरसिंह धामीले बताउनुभयो । “सडक नपुग्दा घोडा र खच्चरबाट चामल ढुवानी गर्नुपथ्र्यो”, धामीले भन्नुभयो, “खच्चरमा बोक्दा पाँच रुपियाँ भाडा लाग्थ्यो भने गाडी पुगेपछि तीन रुपियाँ किलो मात्रै ढुवानी भाडा लाग्नेगरेको छ ।”

ग्रामीण सडक निर्माण गर्दा स्थानीय सरकारले कडा चट्टान भएको ठाउँमा मात्रै डोजरको प्रयोग गरेर बाँकी काम स्थानीयलाई दिने हो भने रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य हुने स्थानीय युवा सुन्दरसिंह धामीले बताउनुभयो । गाउँपालिकाले बिजुली विस्तार गर्दा पोल गाड्ने काममा जसरी स्थानीयले रोजगारी पाए, सडकमा पनि त्यसरी नै रोजगारी सिर्जना हुने धामीको विश्वास छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स