काठमाडौं । आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार चुनाव चिहृन प्रदान गर्नेछ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था छ । जहाँ प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जितेका दलहरुलाई मात्रै राष्ट्रिय दलको मान्यता पाउने उल्लेख छ । यस्तो दलको संख्या ६ वटा छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा राष्ट्रिय दलका उम्मेदवारलाई मात्र दलीय निर्वाचन चिह्न दिइने व्यवस्था छ । यो व्यवस्थाअनुसार ६ वटा राजनीतिक दलका उम्मेदवारले मात्रै दलीय चुनाव चिहृन पाउने भएका हुन् । अरु राजनीतिक दलले स्थानीय चुनावमा दलीय आधारमा नभई स्वतन्त्र हैसियतमा उम्मेदवार खडा गर्नुपर्छ र उसका उम्मेदवारहरुले फरक(फरक चुनाव चिह्न पाउन सक्छन् ।
स्थानीय तह निर्वाचन ऐन २०७३ दफा २६ को उपदफा ७ मा राष्ट्रिय दल बाहेकका उम्मेवार तथा स्वतन्त्र उम्मेवारलाई स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिहृन प्रदान गरिने व्यवस्था छ ।