28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

मिथिला नगरपालिकाद्धारा माटोको उर्वरा शक्ति बढाउन कृषि चुन वितरण

धनुषा। धनुषास्थित मिथिला नगरपालिकाले माटोमा सुधार ल्याउन किसानलाई कृषि चुन वितरण गरेको छ । परीक्षणको नतिजाअनुसार नगरपालिकाभित्रको खेतियोग्य ६५ प्रतिशत माटो बिग्रिएको अवस्थामा पाइएपछि माटोमा सुधार ल्याउन किसानलाई कृषि चुन वितरण गरिएको हो ।

पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागि ७५ प्रतिशत अनुदानमा ५० किलोग्रामका दरले चार हजार नौ सय किसानलाई कृषि चुन बाँडिएको मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महतोले बताउनुभयो ।

कृषि शाखाले शिविर सञ्चालन गरेर तथा किसानको खेतबारीबाट माटो ल्याएर परिक्षण गर्दा माटोमा अम्लीयपनामा एकरुपता नभएको पाइएको थियो । माटोमा सरदर अम्लीयपना ६।५ पिएच देखि ७ पिएचसम्म हुँदा उत्पादका लागि राम्रो मानिन्छ तर यहाँ कतै ५.५ पिएच अम्लीयपना देखियो भने कतै ८.५ पिएचसम्म अम्लीयपनाको मात्रा भेटिएको उहाँले जानकारी दिनुभयो ।

रासायनीक मल तथा विषादीको बढ्दो प्रयोग तथा बालि चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना घट बढ हुन गई उर्वराशक्तिमा ह्रास आउने गरेको छ । माटोमा अम्लको मात्रा बढ्दै जानु चिन्ताको विषय भएको जनाउँदै यसको मात्रा घटाउन किसान पनि जागरुक बन्नुपर्ने प्रमुख महतोले भन्नुभयो । माटोको अवस्था हेरेर एक रोपनीमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गर्न सकिन्छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाले जिल्लाको बटेश्वर गाउँपालिकामा माटो परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन र फस्फोरसको मात्रा कमी पाइएको थियो । पालिकाको ८० ठाउँको माटो परिक्षण गर्दा कृषि योग्य माटोमा नकारात्मक प्रभाव परेको परियोजनाका कृषि प्राविधिक राहुलदेव साहल बताउनुभयो । उहाँले माटोमा भएको अम्लीयपनालाई सन्तुलनमा ल्याउन कृषि चुन छर्कनु उत्तम हुने भन्नुभयो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स