सिन्धुलीमाढी। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत सिन्धुली जिल्लामा सातवटा पालिका अझै दमकल (वारुण यन्त्र) विहीन अवस्थामा छन् । नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा कमलमाई नगरपालिका र दुधौली नगरपालिकाले मात्रै अहिलेसम्म आफंँले एक÷एकवटा दमकलको व्यवस्था गरेका छन् । बाँकी मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोसी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकाले भौगोलिक कारणले दमकलको व्यवस्था गर्न नसकेको जनाएका छन् ।
कमलामाई नगरपालिकाले भने स्थानीय तह गठन हुनुअघि नै दमकलको व्यवस्था गरेको जनाएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत सागरकुमार ढकाल कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०६९र०७० तिर दमकलको व्यवस्था गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कमलामाई नगरपालिकामा घरघरमा ग्यास पुगेको छ, बिजुली पुगेको छ र चट्याङ प्रभावित क्षेत्र पनि भएकाले आगलागी जोखिम क्षेत्र हो । त्यसैले पनि यहाँ दमकल अति आवश्यक छ ।”
उहाँका अनुसार कमलामाई नगरपालिकामा भइरहेको एउटा दमकलले नपुगेर अर्को दमकल किन्ने सोचमा नगरपालिका छ । एउटा सदरमुकाम सिन्धुलीमाढी क्षेत्र र अर्को भिमान क्षेत्रमा दमकल राख्ने योजना छ । उता तीनपाटन गाउँपालिकाले भने भौगोलिक विकटताका कारण दमकलको व्यवस्था गर्न नसकेको जनाएको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर पालिकाका ११ वटै वडाका सबै बस्तीमा दमकल जाने बाटो बनेको छैन । त्यसैले पनि दमकलको व्यवस्था गर्न नसकिएको हो ।
गाउँपालिका अध्यक्ष थापामगरले भन्नुभयो, “आवश्यक हो भन्ने जान्दा जान्दै पनि भौगोलिक विकटताका कारण दमकलको व्यवस्था गर्न सकिएको छैन । दमकल किन्न पालिकासँग स्रोत पनि छैन । हामीले अहिलेसम्म दमकल किन्ने कुनै योजना पनि बनाएका छैनौँ ।”
आगलागी नियन्त्रणका लागि दमकल आवश्यक हो भन्ने जाने पनि यहाँका धेरै स्थानीय तहले विभिन्न कारणले अहिलेसम्म दमकलको व्यवस्था गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।
मरिण गाउँपालिका–१ का बासिन्दा वीरबहादुर वाइवा पनि उक्त गाउँपालिकाको धरैजसो वडामा दमकल जान सक्ने ठाउँ रहे पनि अहिलेसम्म पालिकाले दमकल खरिद गर्न चासो नदेखाएको गुनासो गर्नुहुन्छ । उहाँका अनुसार बर्सेनि सुक्खा मौसमको समयमा सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको छ ।