23.8 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

धुलिखेल नगरलाई स्वस्थ सहर बनाउने तीनै तहका सरकारको प्रतिबद्धता

काभ्रेपलाञ्चोक । नगर क्षेत्रभित्र कोइला प्रयोगमा प्रतिबन्ध लगाएको विषयले दुई महिनाअघि बेलायतमा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२६) मा समेत चर्चा कमाएको पर्यटकीय नगर धुलिखेल नगरपालिकाले स्वस्थ सहरका लागि सातबुँदे प्रतिबद्धता गरेकोे छ । संघीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच स्वस्थ सहर बनाउन यस्तो प्रतिबद्धता गरिएको हो ।

शनिबार पारित सातबुँदे प्रतिबद्धतामा सबै स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण बनाउने, नसर्ने रोग, पोषण तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम दिने तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्रलाई सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि विशेष तालिम सञ्चालन गरिने उल्लेख छ ।

विभागका आपूर्ति व्यवस्था महाशाखा प्रमुख डा। झलक गौतम, स्वास्थ्य कार्यालयका प्रमुख डा। पुरुषोत्तमराज सेढाईं, नगर उपप्रमुख विमला शर्मा तथा नगरका विभिन्न शाखा प्रमुखको रोहबरमा उक्त प्रतिबद्धता गरिएको हो । ‘आरोग्यका लागि स्वस्थ सहर अभियान सफल पार्न सातबुँदे प्रतिबद्धता पारित गरियो’, उपप्रमुख शर्माले भनिन् । उनका अनुसार प्रतिबद्धतापछि स्वस्थ नगर निर्माणमा सरोकारवालालाई प्रत्यक्ष दबाब हुने र अभियान सफल हुनेछ ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्कटल्यान्डको ग्लास्गो सहरमा नोभेम्बर पहिलो साता आयोजित कोप–२६ मा नगरले आफ्नो क्षेत्रलाई कोइलामुक्त बनाउने अभियानबारे चर्चा गरेको भोलिपल्टै विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणा गरेका थिए । धुलिखेल नगरपालिकाले त्यतिबेला अन्य निकाय तथा मुलुकबाट पनि यस विषयलाई अनुमोदन गर्न आग्रह गरेको थियो । नगरप्रमुख अशोक ब्याञ्जुका अनुसार नगर क्षेत्रभित्र हाल कोइला प्रयोग पूर्ण प्रतिबन्ध छ ।

नेपालको संघीय राजधानी नजिकको काभ्रेको एक नगरले सुरु गरेको यस्तो अभियानले विश्वलाई नै एउटा उदाहणीय पाठ सिकाएकामा चर्चामा पुगेको धुलिखेल हाल ‘स्वस्थ सहर’ अभियानमा लागेको हो । खनिज तत्त्व उत्खनन नगर्ने, वातावरणमैत्री विकासका कार्यक्रम गर्ने र आगामी पाँच वर्षमा स्थानीयका घर–घरमा प्रयोग गरिएका फोहोर पानीलाई प्रशोधन गरी पुनःप्रयोग गर्ने योजना बनाउने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

‘धुलिखेलले गरेको एउटा काम विश्वमा चर्चा हुनु गौरवका विषय बनेको छ’, उनले भने, ‘अब स्वस्थ सहर अभियानका लागि सर्वदलीय अपनत्व बढाइनेछ ।’ नगरपालिकाको सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरेर सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काम भइरहेको छ । नागरिकको अवस्था कस्तो छ, के–कस्तो उपचार आवश्यक छ भन्ने पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना बनाइएको छ ।

नगरप्रमुख ब्याञ्जुले भने, ‘नगरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबैमा निःशुल्क उपलब्ध गराइने ६५ थरीका औषधी पर्याप्त बनाइनेछ । सबै नागरिकको आरोग्यताका लागि नगरभित्रका स्वास्थ्य केन्द्रलाई चुस्तदुरुस्त बनाउँदै तिनको अवस्था बुझ्न सर्वेक्षण गर्ने नगरको योजना छ ।’

गत असोज अन्तिम साता ‘विश्वस्मार्ट दिगो सहर संगठन’ को सन् २०२१ देखि २०२३ सम्मका लागि यो नगरपालिका कार्यसमिति सदस्यमा निर्वाचित भएको थियो । विश्वका १३६ देशका सहर सदस्य रहेको उक्त संगठनकोे पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको हो ।

नगरप्रमुख ब्याञ्जुले संसारका ठूला देशका सहरसँगै संगठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु अर्को गौरवको विषय भएको बताए । हालै नगरलाई शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचाँै नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स