कैलाली । धान भित्र्याउने बेला बेमौसमी वर्षाले क्षति पुर्यायो। मानो रोपेर उब्जाएको मुरी धान नष्ट भयो। किसानले सरकारबाट त्यसको क्षतिपूर्ति पाएनन्। त्यसमाथि वर्षामा जोगिएको धानले बजार पाएको छैन। भिजेर दाग लागेको भन्दै सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेको छैन। यही मौका छोप्दै व्यापारीले आधाभन्दा सस्तो मूल्य तोकेका छन्। प्रदेश १ देखि सुदूरपश्चिमसम्मकै किसानको पीडा उस्तै छ।
कैलालीका धनीसिंह साउदले ३० बिघामा फलाएको धान बिक्री भएको छैन। कात्तिक पहिलो साता परेको झरीले धानमा दाग बसेको भन्दै खाद्य व्यवस्थाले किनेन। टीकापुर नगरपालिका–८ सूर्यपुरका साउदले ३० बिघामा खेती गरेकामा साढे ६ बिघाको बाढीले बगायो। ‘साढे २३ बिघामा फलाएको ४ सय क्विन्टल धान आँगनमा राखेको छु’, साउद पीडा पोख्छन्, ‘कम्पनीले धान भिजेको भन्दै फर्काइदियो।’
कम्पनीले मंसिर २२ गतेदेखि कैलालीमा धान खरिद सुरु गरेको थियो। पहिलो चरणमा ३५ हजार क्विन्टल खरिद गर्ने सूचना निकालेको थियो। आठ दिनमा १३ क्विन्टल मात्रै किनेको छ। धान भिजेकाले छानेर मात्रै किनेको कम्पनीको प्रतिक्रिया छ।
कम्पनीले प्रतिक्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ मूल्यमा मोटो धान किन्ने निर्णय गरेको छ। तर, भित्र्याउने बेला भिजेको भन्दै धान किन्न आनाकानी गरेको किसानको गुनासो छ। ‘हामीले मागेको मापदण्डअनुसारको १३ क्विन्टल मात्रै आएको छ। किन्नुपर्ने ३५ हजार क्विन्टल हो। तर, किसानसँग नभिजेको धान नै छैन’, कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख एन्जिला बस्नेत भन्छिन्। केन्द्रले मापदण्ड बनाएर दिएको र त्यसमा भिजेको धान नकिन्न स्पष्ट निर्देशन रहेको बस्नेतको भनाइ छ।
कम्पनीले धान फर्काएपछि किसान सस्तोमा ‘गल्ला’ व्यापारीलाई बेच्न बाध्य छन्। प्रतिकिलो २७ रुपैयाँ ५२ पैसा कम्पनीले तोकेको अवस्थामा नकिनेपछि गल्लालाई १२ देखि १६ रुपैयाँसम्म बिक्री भइरहेको छ। कम्पनीले गत वर्ष मात्रै ५४ हजार क्विन्टल धान खरिद गरेको थियो। तोकेको मूल्य बजारको तुलनामा बढी हुने भएकाले गल्ला व्यापारीले कम्पनीकै मूल्य हाराहारीमा खरिद गर्थे। यो वर्ष भने कम्पनीले खरिद नगरेपछि गल्लाको हातमा मूल्य र धान पुगेको छ।
कृषि ज्ञान केन्द्र कैलाली र कञ्चनपुरका अनुसार दुवै जिल्लामा १ लाख २६ हजार ५ सय २१ हेक्टर जमिनमा खेती हुन्छ। यो वर्ष ५ लाख ४० हजार २ सय ४७ टन मात्रै फलेको थियो। तर, किसानले त्यसको ३५ प्रतिशत उत्पादन बाढीका कारण गुमाएका छन्। दुवै जिल्लामा ६ अर्ब ३३ करोडको धान नष्ट भएको जनाइएको छ। सुदूरपश्चिम प्रदेश कार्यालयमा ११ हजार क्विन्टल मात्रै चामल मौज्दात छ। ‘यसले २२ वटा शाखा, डिपो र बिक्री केन्द्रका लागि चामल पुग्दैन’, बस्नेत भन्छिन्, ‘केन्द्रले चामल खरिद गर्ला। तर अभाव भने पक्कै हुनेछ।’