26.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

नेपाली काँग्रेसको १४औँ महाधिवेशन:आज १३२ पदका लागि मतदान

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानबाटै मतदान हुँदैछ । सबै पदका लागि मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुुरु हुनेछ । सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । यदि कुनै उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारद्वयबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमै आफूू विजयी हुने दाबी गर्दै आउनुुभएको छ । सभापति पदमा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा। शेखरप्रसाद कोइराला र कल्याणकुमार गुुरुङबीच प्रतिस्पर्धा हुँदैछ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुुभएको छ । तसर्थ अब १३२ पदका लागि मतदान हुँदैछ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मतदानका लागि सबै तयारी पूरा भएको र सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी दिनुभयो । महाधिवेशनअन्तर्गत मिडिया सेन्टरका संयोजक डा। सुरेश आचार्यका अनुसार सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्य पदको मतदान सकिएपछि सोमबारबाटै सभापति पदको मतगणना हुनेछ । उहाँले गोरखापत्रसँग भन्नुभयो, “मतदान सकिएलगत्तै सभापतिको मतगणना हुन्छ । दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुन्छ र मतगणना पनि सभागृहमै हुन्छ । पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुन्छ ।”

मतपत्र हाल्नका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । सभापति पदका उम्मेदवार जिल्लाबाटै महाधिवेशन प्रतिनिधि भएर आउनुुभएको छ भने प्रदेशका लागि छुट्याइएको केन्द्रबाट र महाधिवेशन प्रतिनिधि निर्वाचित नभएका केन्द्रका पदाधिकारी र केन्द्रीय सदस्यले केन्द्रकै मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार काँग्रेसको नयाँ नेतृत्व चयन गर्न हुने निर्वाचनमा २९ वटा मतपत्र प्रयोग गरिनेछ । “अलग–अलग रङ्गका २९ वटा मतपत्र प्रयोग गरिनेछ । सभापति पदका लागि एउटा, उपसभापतिका लागि एउटा र महामन्त्रीका लागि एउटा मतपत्र प्रयोग गरिनेछ”, उहाँले भन्नुभयो, “सहमहामन्त्री पदका लागि हुने मतदानमा आठवटा मतपत्र प्रयोग गरिनेछ । समावेशी पद्धतिअनुसार आठवटा क्षेत्रका लागि आठवटा मतपत्र प्रयोग गरिनेछ ।”

केन्द्रीय सदस्यका लागि समावेशी प्रणालीका आधारमा क्षेत्रगत ९क्लस्टर० रूपमा अलग–अलग १८ गरी जम्मा २९ वटा मतपत्र प्रयोग गरिनेछ । मतदानका लागि केन्द्रीय सदस्य खुलातर्फको मतपत्र सबैभन्दा ठूलो हुनेछ । खुलातर्फका ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेकाले सबैभन्दा ठूलो मतपत्र सोही पदको हुने घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय सदस्यका केही क्लस्टरमा एक पदमा दुई जनाको उम्मेदवारी परेको छ । त्यसैले सबैभन्दा सानो मतपत्र त्यही पदको हुनेछ ।”

नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने छन्, जसका लागि प्रत्येक चरणमा एक हजार जनाले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । घिमिरेले गोरखापत्रसँग भन्नुभयो, “मतदान सुरु भएपछि पहिलो चरणमा सय जनाले मतदान गर्नुहुनेछ । अनि एक हजार जना महाधिवेशन प्रतिनिधिलाई एकसाथ मतदान गराइनेछ । ४५ मिनेटदेखि ५५ मिनेटभित्र एक जनाले मतदान गर्नुहुनेछ । अनुमानित आठ घण्टामा सबै मतदान सम्पन्न हुनेछ ।”

सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि छुट्टाछुट्टै रङ्गको मतपत्रको व्यवस्था गरिएको छ । मतपत्रमा उम्मेदवारको नाम मात्रै उल्लेख छ । आफूले इच्छाएको उम्मेदवारको नाममा रेजा लगाउनुपर्ने छ । घिमिरेले भन्नुभयो, “पढ्न गाह्रो हुने, अपाङ्गता भएका तथा अशक्त व्यक्तिको सुविधाका लागि सहयोगीको व्यवस्था गरिनेछ ।”

६० जनाको उम्मेदवारी फिर्ता
पदाधिकारीसहित ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा दुुई पदाधिकारी छन् । सभापति पदका उम्मेदवार युवराज न्यौपाने र सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिनुभयो ।

त्यसैगरी केन्द्रीय सदस्य पदमा नामाङ्कन गरेका ५८ जनाले उम्मेदवारी फिर्ता लिएको मिडिया सेन्टरका संयोजक आचार्यले जानकारी दिनुभयो । सभापति पदमा कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखरप्रसाद कोइराला र शेरबहादुर देउवाले उम्मेदवारी दिनुभएको छ । उपसभापति पदमा डा. चन्द्र भण्डारी, दिव्येश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाले उम्मेदवारी दिनुभएको छ ।

महामन्त्रीका लागि डा। प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, गगनकुमार थापा, डा.राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ ।

सहमहामन्त्री पदका विभिन्न क्लस्टरमा कमला पन्त, डिना महालक्ष्मी उपाध्याय, गङ्गा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, विकास लामा, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठौर, देवराज चालिसे, महेन्द्र यादव, रञ्जीत कर्ण, रामकृष्ण यादव, फरमुल्लाह मन्सुर, शेख वकिल, उमाकान्त चौधरी, तेजुलाल चौधरी, चेतराज बजाल, जीवनबहादुर शाही, बद्री पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

पदाधिकारीसहित १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको थियो, जसमा ६० जनाले उम्मेदवारी फिर्ता लिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स