22.1 C
Kathmandu
Saturday, May 16, 2026
spot_img

मङ्सिर १ गतेदेखि लागु हुने गरि विद्युतको नयाँ महसुल सार्वजनिक

काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युत्को नयाँ महसुल दर सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको नयाँ दरअनुसार पहिलेको भन्दा औसतमा महसुल २.८४ प्रतिशत सस्तो बनाइएको छ । सिँचाइमा मात्र हेर्दा औसत ४०।६९ प्रतिशतले महसुल घटाइएको छ ।

मङ्सिर १ देखिको खपतमा लागू हुनेगरी तय गरिएको नयाँ महसुल संरचनाअनुसार करिब १९ लाख ८६ हजार ग्राहकले मासिक ३० रुपियाँ तिरेर २० युनिटसम्म बिजुली बाल्न पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेअनुरूप आयोगले सिङ्गल फेज पाँच एम्पियर जडान गरेका ग्राहकले मासिक २० युनिटसम्म मात्र खपत गरेमा न्यूनतम मासिक शुल्क ३० रुपियाँ मात्र तिर्नुपर्नेछ ।

इनर्जी शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ तर खपत २० युनिटभन्दा बढी हुनासाथ ३० युनिटसम्म भने मासिक न्यूनतम ५०, इनर्जी शुल्क २० युनिटसम्मको ६० र थप युनिटका लागि प्रतियुनिट छ रुपियाँ ५० पैसा लाग्नेछ । ३१ देखि ५० समूहलाई आठ रुपियाँ तोकिएको छ भने ५१ देखि १०० सम्म नौ रुपियाँ ५० पैसा प्रतियुनिट निर्धारण गरिएको छ।

२० युनिटसम्मको छुट १५ एम्पियर र माथिको क्षमता जडितलाई उपलब्ध नहुने आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताउनुभयो । “सरकारले आधारभूत तहका जनतालाई बिजुलीमा सहुलियत दिने नीतिअनरूप ती उपभोक्ता लक्षित गरेर यस्तो छुटको व्यवस्था गरिएको हो,” उहाँले भन्नुभयो, “नयाँ महसुलदरले घरायसी प्रयोजनमा एलपी ग्यास प्रतिस्थापन गरेर विद्युतीय चुलोको प्रयोग बढाउने, सिँचाइमा सहुलियत पूर्ण बिजुली खपत गराएर कृषि उत्पादकत्व बढाउने नीतिगत आधारमा महसुल निर्धारण गरेका छौँ।”

नयाँ महसुल दरमा सिङ्गल फेजका सबै गार्हस्थ्य उपभोक्तालाई लक्षित गर्दै पाँच, १५, ३० र ६० एम्पियर जडित ग्राहकको न्यूनतम महसुल साबिकभन्दा २५ रुपियाँ घटाइएको छ । गार्हस्थ्य उपभोक्ताले इन्डक्सन चुलो प्रयोग गरून् भन्ने हेतुले १५१ देखि २५० युनिटसम्मको विद्युत्मा प्रतियुनिट ५० पैसा घटाएर नौ रुपियाँ ५० पैसा बनाइएको छ । त्यस्तै ४०० युनिटभन्दा माथिको खपतमा प्रतियुनिट ११ कायम गरिएको छ ।

आयोगले स्वीकृत गरेको संरचनाले थ्री फेजका ग्राहकले असारदेखि कात्तिकसम्म मौसमी दरअनुरूप सस्तोमा बिजुली पाउने व्यवस्था गराइएको छ । थ्री फेज तल्लो भोल्टेज ग्राहकले वर्षामा प्रतियुनिट १० रुपियाँ ५० पैसा र सुक्खायाममा ११ रुपियाँ ५० पैसा पर्ने व्यवस्था गराइएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स