21.1 C
Kathmandu
Thursday, April 2, 2026
spot_img

वैशाख १ देखि काठमाडौँमा रात्रिकालीन सार्वजनिक यातायात सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाका अनुसार प्रारम्भिक चरणमा दुईवटा रूटमा चारवटा विद्युतीय बस सञ्चालन गरिनेछ । पहिलो रूट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ, जसको एकतर्फी दूरी १६ किलोमिटर रहनेछ ।

त्यस्तै दोस्रो रूट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ । यो रूटको एकतर्फी दूरी २० किलोमिटर रहनेछ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले बेलुका ८ बजेपछि सार्वजनिक यातायात अभाव हुँदा यात्रुहरू महँगो साधन प्रयोग गर्न बाध्य भएको अवस्था सुधार गर्न यो सेवा सुरु गर्न लागिएको बताइन् । उनका अनुसार विशेषगरी महिला, किशोरी तथा विद्यार्थीहरूले भोग्दै आएको असहजता र आर्थिक भार कम गर्ने उद्देश्यले यो पहल गरिएको हो ।

सुरुमा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछन् भने हरेक २० मिनेटमा बस सेवा उपलब्ध हुनेछ । यात्रुको सुरक्षाका लागि बसमा सिसिटिभी क्यामरा जडान गरिनेछ र नगर प्रहरी पनि परिचालन गरिनेछ ।

महानगरपालिकाले यो सेवालाई आधुनिक, सुरक्षित, सहज र दिगो बनाउने लक्ष्य राखेको जनाएको छ । साथै, भविष्यमा सेवा विस्तारका लागि विभिन्न साझेदारहरूसँग सहकार्य गर्न खुला रहेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया

हेडलाइन्स