24.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी बनाउन तयारी

इलाम l इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई आधिकारिक कामकाजी भाषाका रूपमा प्रयोग गर्ने तयारी थालेको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजमा ल्याउने तयारी गरिरहेका बेला माङसेबुङले पनि आफ्नो क्षेत्रीय भाषिक संरचना अनुरूप पहल अघि बढाएको हो।

गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार बहुसंख्यक जनताले प्रयोग गर्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपि) लाई व्यवहारमा उतार्न एक जना भाषिक सहजकर्ता (सहायक पाँचौँ तह) नियुक्त गर्ने तयारी गरिएको छ। यसका लागि आह्वान गरिएको आवेदनमा छ जनाले दरखास्त दिएका छन् भने भदौ ४ गते परीक्षा लिएर नियुक्ति गरिनेछ।

प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५ र करार प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि २०७४ अनुसार भाषिक सहजकर्ता नियुक्ति हुने बताए। नियुक्त सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको भूमिका निर्वाह गर्नेछन्।

माङसेबुङले यसअघि नै २०७५ साल मङ्सिर १३ गते वडा नं. ५ मा लिम्बू भाषालाई कामकाजी भाषाको रूपमा लागू गरिसकेको थियो। हाल गाउँपालिकाभरि औपचारिक घोषणा गरी कार्यान्वयनमा ल्याउने तयारी गरिएको अध्यक्ष राईले जानकारी दिए। २०७८ को जनगणनाअनुसार गाउँपालिकामा १६ हजार ८१० जनसङ्ख्यामा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास छ। बाहुल्यताका आधारमा नेपालमै पहिलोपटक गाउँपालिकास्तरमै लिम्बू भाषाको प्रयोग सुरु गर्न लागिएको हो।

प्रतिक्रिया

हेडलाइन्स