21.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

डेंगु नियन्त्रण गर्न सतकर्ता अपनाउँदै स्थानीय तह

वालिङ । स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ । विभिन्न स्वास्थ्य संस्थामा डेंगुसँग मिल्दो लक्षण लिएर उपचारका लागि पुग्ने बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

भदौमा मात्रै दुई सय ७ जना डेङ्गुका बिरामी फेला परेका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले बताउनुभयो । साउन ८२ जनामा सङ्क्रमण भएको थियो ।

जिल्लाका ११ वटै पालिकामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । भीरकोट, गल्याङ,वालिङमा डेंगुका धेरै बिरामी भेटिएका छन् । डेंगुको सङ्क्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि स्थानीयतहले सक्रियता देखाएका छन् । यसको नियन्त्रणका लागि ‘खोजेर नष्ट गर अभियान’ स्याङ्जाका सबै स्थानीय तहमा सञ्चालन गरिनुकासाथै विशेषगरी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गुका बिरामीहरुमा टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने, ज्वरो आउने, छालामा स–साना विविराहरु देखा पर्ने, भित्री शरीरमा रक्तश्राव हुन सक्ने लगायतका लक्षणहरु देखिने गह्रौं प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकालले बताउनुभयो । डेंगुसँग मिल्दोजुल्दो लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह अनुसार औषधि खान डाक्टर ढकालको सुझाव छ । दुखाई घटाउनका लागि आफ्नै तरिकाले औषधि खान नहुने उहाँको भनाइ छ ।

पछिल्लो समय बिरामीहरुको परीक्षणको मात्रा बढाईएको र मौसम परिवर्तनले अण्डाको वृद्धि विकासमा तापक्रम अनुकुल हुनुजस्ता कारणहरुले गर्दा डेङ्गुका बिरामी बढेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख चापागाईंले बताउनुभयो । असोज महिनामा डेंगुका बिरामी अझै बढ्न सक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

हेडलाइन्स