24.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

जङ्गली जनावरको आतङ्कले किसान हैरान

जनकपुरधाम । लामो समयदेखि जङ्गली जनावरबाट यहाँका कृषक पीडित भएको गुनासो गरेका छन् । धनुषा र महोत्तरीका किसानका अनुसार जङ्गली जनावरको समस्याले उहाँहरूलाई खेती गर्न पनि मन लाग्दैन । ‘वर्षभरि मेहनत गरेको फल टिप्नेबेला जनावरले खाइदिन्छ, खेती गर्ने उत्साह मरेर गएको छ’ उहाँहरूको भनाइ छ ।

धनुषा जिल्लास्थित बटेश्वर गाउँपालिका –१ का दीपेन्द्र सिंहले भन्नुभयो, ‘१० वर्ष पहिले ५० हजार लागतमा १० कठ्ठा जमिनमा बोडी तरकारी रोप्नुभएको थियो । भोलि बजारमा लिएर जानुपर्नेछ भनेर योजना बनाउँदै थिएँ, त्यही रात नीलगाई आएर सबै तरकारी (बोडी) सखाप पारेर गएछन् ।’

दीपेन्द्र सिंहले आफ्नो समस्या सुनाउँदै मेरो मात्र नभएर पुरै गाउँ नै यो समस्याबाट पीडित भएको बताउनुभयो । उहाँले दिन प्रतिदिन नीलगाई  सँगै बाँदरको आतङ्क पनि बढिरहेको बताउनुभयो । पहिला खेतबारीमा आउने बाँदर अब दिन प्रतिदिन घर आँगनमा पनि आउन थालेको छन् उहाँले भन्नुभयो ।

यी जङ्गली जनावरबाट धनुषामात्र नभएर मधेशका विभिन्न पालिकाका किसान पीडित रहेको बताउनुहुँदै सिंहले बाँदर, बँदेल र नीलगाईलाई धपाउन चौबिसै घण्टा कुरेर बस्नुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो । गाउँपालिकाले यस आर्थिक वर्षमा जङ्गली जनावर नियन्त्रणका लागि १० लाख बजेट छुट्याएको छ । तर त्यसलाई कसरी सदुपयोग गर्ने भन्नेबारे थाहा छैन । त्यसैले प्रदेश र स्थानीय सरकार यसबारे गम्भीर भएर लाग्नुपर्ने उहाँको आग्रह छ ।

यस्तै, महोत्तरीस्थित बर्दिबास नगरपालिका –९ पशुपतिनगरका जङ्गली जनावरबाट पीडित किसानकी छोरी बिना सिंहले भन्नुभयो, ‘महोत्तरीको पशुपतिनगरमा पर्ने जमिनमा मेरा बुवाले परवल तरकारी रोप्नु भएको थियो, भोजमा तरकारीका लागि परवल दिनुपर्ने भनेर एक क्विन्टलको अर्डर लिएर आउनुभयो, भोलिपल्ट बारीमा परवल टिप्न जाँदा दुई किलो परवल पनि निस्केन । सबै बाँदरले खाएर सखाप बनाइ सकेका थिए ।’

जङ्गलमा खाने कुरा नभेटेर जङ्गली जनावर गाउँका खेतबारी पस्नेगरेको कृषकको भनाइ छ । यसैगरी मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले मधेशमा तीन किसिमका जङ्गली जनवारले आतङ्क गरिरहेको बताउनुभयो । चुरे क्षेत्र ओगटेर मानवबस्ती बसाल्ने, जनावरलाई चाहिने खानेपानी मासेर मानवले व्यापार गर्ने र जनावरको घर जङ्गलमा मानवले आतङ्क सिर्जना गरेकै कारण जङ्गली जनावर मानव बस्तीमा पस्नेगरेको उहाँको भनाइ छ ।

मण्डलले भन्नुभयो,‘एक अध्ययनका अनुसार मधेशमा आगामी १० वर्षपछि मधेशका किसानले ५ किलो पनि नगदेबाली उब्जाउन नसक्ने अवस्था आउन सक्छ ।’ यस्ता समस्या समाधानका लागि केन्द्रले चासो नदिए पनि प्रदेश र स्थानीय सरकारले चाँडै गम्भीर भएर कदम चाल्नुपर्ने मण्डलको सुझाव छ ।

मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव अन्जना कायस्थले जङ्गली जनावरभन्दा पनि नीलगाई, बाँदर र बँदेलको आतङ्कलाई न्यूनीकरण गर्न अहिलेसम्म प्रदेश सरकारले आठ वटै जिल्लामा वन डिभिजन कार्यालयमार्फत सञ्चालन गरिने मानव वन्यजन्तु दण्ड न्यूनीकरण कार्यक्रम राखेको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स