21.5 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

भारतबाट चिनी आउने भएपछि आत्तिए स्वदेशी उद्योगी, तिहारमा चिनी अभाव नहुने

काठमाडौँ । दशैंको मुखमा उपभोक्ताहरुले सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा समेत चिनी पाउन सकेनन् । दुई किलो चिनीका लागि धादिङबाट काठमाडौं आएका दृश्यहरु देखिए । अब तिहार नजिकिएको छ । तिहारमा चिनी सबैभन्दा बढी खपत हुने गर्छ । दशैंअघिदेखिको अभाव अझै टरेको छैन । तर अब भने भारतबाट प्रशस्त चिनी आयात हुने भएकाले अभाव नहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा गत भदौबाट चिनीको अभाव सिर्जना भएको थियो । तर दशैंमा समेत चिनी अभाव कायमै रह्यो । सरकारले सुपथ मूल्यका पसलहरु सञ्चालन गरे पनि चिनी उपलब्ध गराउन सकेन । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएको छ । सरकारले भारतबाट जीटुजीमार्फत चिनी ल्याउने प्रक्रिया सुरु गरेकाले तिहारमा अभाव नहुने बताइएको छ । भारतले जीटुजीमार्फत २५ हजार टन चिनी नेपाललाई दिने भएपछि नेपाली चिनी उद्योगहरुले चिनी दिन सुरु गरेका छन् ।

साल्ट ट्रेडिङले सोमबारबाट बजारमा चिनी पठाउन सुरु गर्ने बताएको छ । काठमाडौंमा चिनी अभाव भएपछि असोज २३ गते उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले आफ्नो कार्यकक्षमा चिनी उद्योगीहरुलाई बोलाएर चिनी आपुर्तीमा सहयोग गर्न आग्रह गरेका थिए । तर उद्योगीहरु तयार भएनन् । भारतले चिनी आयातमा सहजीकरण गरेको घोषणा, नयाँ चिनी उत्पादन हुने समय र पुरानो चिनीले भाउ पाइरहेको मौका छोपेर नेपाली चिनी उद्योगहरुले बजारमा चिनी दिन थालेका हुन । अहिले साल्ट ट्रेडिङले प्रति उपभोक्ता दुई केजी चिनी वितरण गरिरहेको छ । तर, तिहारसम्मलाई धान्न सक्ने चिनीको मौज्दात भएकाले सोमबारदेखि मार्ट, भाटभटेनी, होलसेल पसल र मिठाई पसलहरुलाई आवश्यकता हेरी चिनी दिने साल्ट ट्रेडिङले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन ५ मा जीटुजीमार्फत ५० हजार टन चिनी ल्याउन भारतलाई चिठी पठाएको थियो । तर भारतले जवाफ पठाएन । हालै मात्र भारतले २५ हजार टन चिनी दिन तयार भएको हो । जीटुजीमार्फत भारतले दिने भनेको २५ हजार टन चिनी आयातको जिम्मा ५० प्रतिशत छुटसहित सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई दिएको छ । तर चिनीको मूल्य भने उपभोक्तालाई महंगो पर्ने भएको छ ।

काठमाडौं उपत्यकामा भदौंको दोस्रो साताबाट चिनी अभाव सुरु भएपछि वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तिव्रता दिएको थियो । सो क्रममा असोज ८ मा कुलेश्वरस्थित गुञ्जेश्वरी ट्रेड लिंकबाट लेवल नगरेको अवस्थामा ७० हजार केजी चिनी बरामद गर्दै गोदाममा सिलबन्दी गरेको थियो । त्यसैले खेतानको गुञ्जेश्वरी ट्रेड लिंकले बिक्री सुरु गरेको चिनीमा भने प्रश्न उब्जेको छ ।

साल्ट ट्रेडिङमा अहिले पनि उपभोक्ताहरुको लाइन उस्तै छ । कालीमाटीस्थित गुञ्जेश्वरी ट्रेड लिंकको होलसेलमा पनि उपभोक्ताहरुको लाइन देखिन्छ ।

सरकारले चिनी आयातमा सक्रियता देखाएसँगै चिनी वितरकहरु पनि सक्रिय हुन थालेका छन् । यद्यपि चिनीमा कृत्रिम अभाव सिर्जना हुन नदिनका लागि सरकारले हेलो सरकार र नेपाल प्रहरीको निःशुल्क हटलाइन नम्बर उपलब्ध गराए पनि कार्यान्वयन हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स