28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

काठमाडौं महानगरले ‘पब्लिक ट्वाइलेट’सञ्चालनको जिम्मा वडालाई दिने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र ५ सय मिटरको दुरीमा सार्वजनिक शौचालय भेटिने गरी काम सुरु गरेको जनाएको छ । महानगरपालिकाले आफैंले निर्माण गरेको सार्वजनिक शौचालय र व्यक्ति तथा संस्थाले सञ्चालन गरेको ‘पब्लिक ट्वाइलेट’लाई प्रभावकारी सञ्चालन गरी ५ सय मिटरको दुरीमा भेट्ने बनाउन लागेको हो ।

यो कामको लागि महानगरले वडालाई जिम्मा दिएको छ । महानगर भित्र भएका सार्वजनिक शौचालयलाई नियमित गर्ने र ‘पब्लिक ट्वाइलेट’ बनाउन सम्झौता भएका स्थानहरुको सञ्चालन अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडा मार्फत काम गर्न लागेको महानगरका सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा।शिवराज अधिकारीले जानकारी दिए । काठमाडौंमा शौचालयको अवस्था तत्काल सुधार गर्न अल्पकालीन समाधानको लागि मात्रै वडा मार्फत काम सुरु गरेको अधिकारीले बताए ।

काठमाडौं महानगरपालिकाका मेयरमा बालेन शाह निर्वाचित भएपछि उनको आग्रहमा बजार क्षेत्रका बासिन्दाले आफ्नो निजी शौचालयलाई पनि सार्वजनिक रुपमा प्रयोग गर्न दिन सहमत भएका थिए । खासगरी पसल, होटल तथा रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थाले सार्वजनिक शौचालय लेखिएको बोर्ड राखेर बाटो हिँड्ने जोसुकैलाई पनि प्रयोग गर्न दिन थालेका थिए ।

महानगरसँग ‘पब्लिक ट्वाइलेट’ बनाउन भनेर व्यक्तिगत तथा संस्थागत रुपमा सम्झौता गरेका १२० वटा सार्वजनिक शौचालय छन् । यसैगरी महानगरपालिका क्षेत्रभित्र पहिलेदेखि नै सन्चालित ५७ वटा सार्वजनिक शौचालयहरुको सूची छ । तर ती कुनै पनि व्यवस्थित ढंगले सन्चालनमा छैनन् । धेरैजसो सार्वजनिक शौचालयमा नियमित सरसफाइ, मर्मत सम्भार र साबुन पानीको समेत व्यवस्था छैन ।

सार्वजनिक शौचालय थपिने
शौचालयको स्वच्छता सम्बन्धी आचरण विकास गर्न वर्षको ३ पटक निःशुल्क सफाइका सामान वडा मार्फत उपलब्ध गराउने महानगरले जनाएको छ । फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याट सहितका सामान महानगरले दिने भएको छ । डिटोल, रुमाल, रुम स्प्रे, डस्ट विन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहितका सामान पनि उपलब्ध गराइने बताए ।

सार्वजनिक शौचालय निर्माणको योजनाबारे अधिकारी भन्छन् ‘सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा नयाँ ठाउँमा शौचालय निर्माण गर्छौं । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग हुनेछ ।’

अहिलेको अवस्थाबाट रुपान्तरण गरेर सफा, दुर्गन्धरहित, हात धुने साबुन, पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने बानीको विकास गर्नको लागि महानगरले सार्वजनिक शौचालय र व्यक्ति वा संस्थाले उपलब्ध गराएको शौचालयको लागि सहयोग गर्न लागेको अधिकारीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स