22.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

राहत तथा पुनर्स्थापना सामग्री तयार

काठमाडौँ । मनसुनजन्य बाढीपहिरो, आगलागी, भूकम्प, महामारीलगायतका विपत्मा परेका व्यक्तिको तत्काल खोज, उद्धार तथा पुनर्स्थापना र राहत वितरणका लागि सरकारले देशभरका प्रमुख ११ स्थानमा पूर्वतयारी सामग्री तयारी अवस्थामा राखेको छ ।

गृह मन्त्रालयले विपत्मा परेका नागरिकलाई उद्धार गर्न तथा राहत व्यवस्थापनका लागि काठमाडौँ, विराटनगर, वीरगन्ज भैरहवा, सुर्खेत, नेपालगन्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी तथा जुम्लामा मानवीय सहायता स्थल स्थापना गरी पुनर्स्थापनाका लागि आवश्यक बन्दोबस्ती सामग्री तयारी अवस्थामा राखेको जनाएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको मानवीय सहायता स्थलको निरीक्षण गरी सम्भावित विपत्का आवश्यक पूर्वतयारीको जानकारी लिनुभयो । उहाँले विपत् जुनसुकै बेला जस्तोसुकै अवस्थामा आउन सक्ने भएकाले राहत तथा पुनस्र्थापनाका लागि आवश्यक सामग्रीसहितको जनशक्ति सरकारले देशभर तयारी अवस्थामा राखेको जानकारी दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “विपत्को जोखिमलाई कम गरी मानवीय क्षतिलाई न्यूनीकरण गर्न दातृ निकाय तथा सरोकारवाला सङ्घ संस्थासँग गृह मन्त्रालयले समन्वय र सहकार्य गरी काम गरिरहेको छ । विपत्को जोखिममा परेका व्यक्तिलाई तत्काल उद्धार तथा राहतका लागि बन्दोबस्ती सामग्रीसहितको टोली पूर्वतयारी अवस्थामा राखिएको छ ।”

उहाँले विगतमा भएका विपत्का बेलाको अनुभवबाट पाठ सिकेर कमजोरी नदोहोरिने गरी तत्काल राहत तथा उद्धारमा परिचालन हुने गरी यस पटक संयन्त्र तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले मनसुन सुरु भएपछि ताप्लेजुङको हेवा खोलामा रहेको पुल बाढीले बगाएपछि २४ घण्टाभित्रै बेलिब्रिज जडान गरी सडक सुचारु गरिएको बताउँदै विपत्को पूर्वतयारी गरिएका कारण तत्काल सडक सञ्जाल सुचारु गर्न सम्भव भएको बताउनुभयो । उहाँले पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक सामग्रीसहितको टोली उच्च सतर्क अवस्थामा रहेको बताउनुभयो ।

विपत् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन सरकारले राष्ट्रिय प्रतिकार्य कार्यढाँचा,२०७५ तयार गरी विभिन्न ११ वटा मन्त्रालय सहभागी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण कार्ययोजना तयार गरेको थियो । गृह मन्त्रालयले संयोजन र समन्वय गर्ने गरी तयार भएको संयन्त्रमा मानवीय सहायतामा काम गरिरहेका विभिन्न सरकारी तथा गैरसरकारीलगायत विदेशी दातृ निकायको समेत सहभागिता छ । सम्भावित विपत्का बेला बन्दोबस्ती तथा राहत सामग्री वितरणको समन्वय संयुक्त राष्ट्रसङ्घ अन्तर्गत विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले गरिरहेको छ ।

डब्लुएफपीका सञ्चार विभाग प्रमुख मोनिका उपाध्यायले विपत्का बेला मानवीय उद्धार तथा राहतका लागि नेपाल सरकारको समन्वयमा विश्व खाद्य कार्यक्रम तथा विदेशी दातृ निकायमार्फत राहत तथा पुनस्र्थापना सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

उहाँले सम्भावित विपत्का बेला जोखिममा परेका व्यक्तिको उद्धार तथा राहतका लागि देशभरका विमिन्न ११ स्थानमा पाँच हजारभन्दा बढी टेन्ट, झन्डै १० हजार थान तारकुलिन (छाना), झन्डै पाँच हजार थान ब्ल्याङ्केट र झुल तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँले जोखिममा परेका व्यक्तिलाई आवश्यक पर्ने खाद्यान्न तथा औषधीलगायतका सामग्री खरिदका लागि आवश्यक पर्ने रकम पनि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

विपत् पूर्वतयारीका लागि अत्यावश्यक विभिन्न आपत्कालीन सामग्रीको व्यवस्थित र विपत्पश्चात्को पूर्वतयारीका लागि अत्यावश्यक सामग्रीसहित रक्षा, स्वास्थ्य भौतिक पूर्वाधार तथा यातायात, आपूर्ति मन्त्रालयलगायतका ११ वटा विषयगत मन्त्रालय तयारी अवस्थामा छन् । बाढीपहिरोबाट राष्ट्रिय राजमार्ग अवरुद्ध भए तत्काल सञ्चालनका लागि सेनाले चार वटा बेलिब्रिज तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स